बाल सुरक्षा बलियो बनाउन गेमिङ कम्पनीलाई आग्रह

  • Technology Khabar | १७ आश्विन २०८३, शनिबार
बाल सुरक्षा बलियो बनाउन गेमिङ कम्पनीलाई आग्रह

काठमाडौं ।

अस्ट्रेलियाको अनलाइन सुरक्षा नियामकले रोब्लक्स, फोर्टनाइट, माइनक्राफ्ट र स्टीमलगायत अनलाइन गेमिङ सेवा प्रदायकलाई बाल यौन शोषण तथा अन्य हानिकारक सामग्रीबाट बालबालिकालाई जोगाउन सुरक्षा उपाय थप बलियो बनाउन आग्रह गरेको छ।

अस्ट्रेलियाकी ईसेफ्टी आयुक्त जुली इनम्यान ग्रान्टले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा गेमिङ कम्पनीले बाल सुरक्षाका लागि अपनाएका उपायमा महत्त्वपूर्ण भिन्नता रहेको उल्लेख छ।

बालबालिकाले पहुँच गर्न सक्ने उच्च जोखिमयुक्त खेल तथा सामग्री रोक्न कम्पनीहरूले असङ्गत उपाय अपनाएको र त्यस्ता सामग्रीले बाल यौन शोषण तथा अपराध वा हिंसाका लागि वातावरण बनाउन सक्ने प्रतिवेदनमा जनाइएको छ।

‘अस्ट्रेलियाका बालबालिकालाई फकाउने व्यक्ति, यौन शोषण, हिंसात्मक चरमपन्थी सामग्री वा अन्य हानिकारक सामग्रीको सम्पर्कमा नआई अनलाइन खेल्ने अधिकार छ’, आयुक्त इनम्यान ग्रान्टले भनिन । उनले बालबालिका त्यस्ता सामग्रीको सम्पर्कमा आउनुअघि नै गम्भीर जोखिम पहिचान गरी रोक्ने प्रणाली प्रयोग गर्न सेवा प्रदायकलाई आग्रह गरेकि छिन्।

प्रतिवेदनअनुसार फोर्टनाइट र माइनक्राफ्टका प्रदायकले बाल खाताका लागि सुरक्षा व्यवस्था गरे पनि प्रयोगकर्ताले आफैँ घोषणा गरेको उमेरसम्बन्धी विवरणमा मुख्यतः भर परेका छन्। यसले थप उमेर परीक्षणबिना उच्च जोखिमयुक्त सुविधामा पहुँचको अवस्था सिर्जना गरेको छ।

स्टीमको सञ्चालक भल्भले स्टीम च्याटमा हुन सक्ने हानिकारक गतिविधि सक्रिय रूपमा पहिचान गर्ने उपकरण प्रयोग नगरेको तथा रोब्लक्स र भल्भले भाषा पहिचान प्रणालीका लागि आन्तरिक तथ्याङ्क मात्र प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ। ती प्रणालीलाई नियमित रूपमा पुनःतालिमसमेत नदिएको पाइएको छ।

आयुक्त इनम्यान ग्रान्टले युवा खेलाडीको सुरक्षा सुनिश्चित गर्न गेमिङ सेवा प्रदायकले प्रभावकारी र निरन्तर सुरक्षा उपाय अपनाउनु महत्त्वपूर्ण रहेको बताए।–रासस

प्रकाशित: १७ आश्विन २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...