चिप र मोबाइल बिक्रीमार्फत् सामसङले गर्यो कीर्तिमानी आम्दानी

  • Technology Khabar | १२ कार्तिक २०७८, शुक्रबार
चिप र मोबाइल बिक्रीमार्फत् सामसङले गर्यो कीर्तिमानी आम्दानी

काठमाडौं ।

सामसङले यो वर्षको तेस्रो त्रैमासमा कीर्तिमानी आम्दानी गरेको छ।

कम्पनीले यो अवधिमा अहिलेसम्मकै धेरै अर्थात् ६३ अर्ब डलरको कमाइ गरेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढी हो।

रिपोर्टका अनुसार कम्पनीको सञ्चालन मुनाफा पनि साढे १३ अर्ब डलर पुगेको छ जुन अघिल्लो त्रैमासको तुलनामा २६ प्रतिशतले धेरै हो।

कोरोना महामारीका बावजूद कम्पनीको सेमिकन्डक्टर व्यवसायमार्फत् २२.६ अर्ब डलर आम्दानी भएको थियो।

वर्क फ्रम होम र अनलाइन कक्षाका कारण विश्वभरमा कम्प्युटरको माग उच्च भएकाले यो आम्दानी सम्भव भएको बुझिएको छ। यसबाहेक सर्भरका लागि प्रयोग हुने डीआरएएमको बिक्री पनि निकै बढेकाले यो आम्दनीमा अझ बल पुगेको थियो।

सामसङका अनुसार उसले वैश्विक चिप अभावका बावजूद पनि उत्पादन मिश्रणका माध्यमबाट सामान्य हिसाबले नै व्यवसाय गर्न सकेको थियो।

चिपबाहेक सामसङको मोबाइल व्यवसायले पनि तेस्रो त्रैमासको आम्दानीमा राम्रै योगदान गरेको थियो। अघिल्लो त्रैमासको तुलनामा उल्लेख्य वृद्धिसहित कम्पनीले २४.२ अर्ब डलरको बिक्री गरेको थियो।

यसका साथै सामसङले डिस्प्लेको बिक्रीमार्फत् पनि साढे ७ अर्ब डलर आम्दानी जोडेको थियो। अघिल्लो त्रैमासको तुलनामा डिस्प्लेको आम्दानी पनि वृद्धि भएको थियो।

प्रकाशित: १२ कार्तिक २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...