
काठमाडौं ।
नेपाल मोबाइल व्यवसायी महासंघले मोबाइल तथा इलेक्ट्रोनिक्स सामाग्री बिक्री बितरणमा विभिन्न कम्पनीहरु तथा अनलाइन प्लेटफर्महरुले प्रतिस्पर्धा तथा बजार संरक्षण ऐन विपरितको कार्यहरु गरिरहेको भन्दै आपत्ति जनाएको छ।
मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायीहरुको संगठित संस्था महासंघले हालै प्रेस विज्ञप्ती जारी गरेर स्वच्छ प्रतिस्पर्धालाई खलल पुर्याउने गरी प्रत्यक्ष, अप्रत्यक्ष रुपमा बजारमा एकाधिकार कायम गर्ने बदनियतका साथ विभिन्न डिस्काउन्ट, अफर, क्यासब्याकको बहानामा नेपालभर रहेका रिटेल मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायीहरुको व्यवसाय नै धरापमा पारेको आरोप लगाएको छ।
त्यसरी व्यवसाय धरापमा परेसँगै ठूलो आर्थिक क्षति समेत व्यहोर्नुपरेको गुनासो समेत गरेको छ।
यस्ता सामाग्रीहरुको बिक्री बितरणमा स्वच्छ प्रतिस्पर्धाको वातावरण बनाउन उल्लेखित सामानहरुको मूल्यमा एकरुपमा ल्याउनुपर्ने तथा कानुनी व्यवस्थाको परिपालना गर्न उपभोक्तालाई प्रदान गरिने वारेन्टीको सुनिश्चितता तथा उपभोक्ताको गुनासोलाई सम्बोधन गर्न कम्पनीहरुले देशभर सेवा केन्द्र समेत स्थापना गर्न आग्रह गरेको छ।
प्रकाशित: २२ आश्विन २०७८, शुक्रबार