
काठमाडौं ।
सामाजिक सञ्जाल जायन्ट फेसबुकले भारतमा नयाँ सार्वजनिक नीति प्रमुख नियुक्त गरेको छ। फेसबुक इण्डियाले दिएको जानकारीअनुसार पूर्व आईएएस अधिकारी राजीव अग्रवाललाई भारतमा सार्वजनिक नीति निर्देशक नियुक्त गरेको हो। यसअघि सो पद निकै विवादमा आएको थियो ।
अग्रवालले यसअघि सो पदमा रहँदै आएकी अँखी दासको ठाउँ लिनेछन् । यसलाई निकै महत्वपूर्ण पद मानिएको छ। गत वर्ष विवादमा फसेपछि दासले राजीनामा दिएकी थिईन् । दासलाई भारतीय सरकार र सरकारी पार्टीको पक्षमा समर्थन गर्ने फेसबुक पोस्टहरुमाथि केहि कारबाही नगरेको आरोप लागेको थियो। दासको सो नीति बारे अमेरिकी मिडियाहरुले उल्लेख गर्दै गएको चुनावमा सरकारको पक्ष लिएको आरोपसहित रिपोर्टमा खुलासा गरेका थिए।
सम्बन्धित समाचार-
भारतमा फेसबुक विवाद: सार्वजनिक नीति प्रमुख अँखी दास संयुक्त संसदीय समितिमा उपस्थित
को हुन् राजीव अग्रवाल ?
फेसबुकले जानकारी दिँदै भनेको छ, “भारतीय प्रशासनिक सेवा (IAS) को १९९३ ब्याचका उत्तर प्रदेश क्याडर अधिकारी राजीव अग्रवाल भारतमा नयाँ सार्वजनिक नीति प्रमुख हुनेछन्। उनले यस भूमिकामा बसेर फेसबुकको लागी महत्वपूर्ण नीति विकासलाई परिभाषित र नेतृत्व गर्नेछन् । यसमा प्रयोगकर्ताको सेफ्टी सुरक्षा, डाटा सुरक्षा र गोपनीयता समावेश छ।”
उबरको पूर्व सार्वजनिक नीति प्रमुख
अग्रवाल यस भूमिकामा फेसबुक इण्डियाको उपाध्यक्ष र प्रबन्ध निर्देशक अजित मोहनको नेतृत्वमा काम गर्नेछन्। उनी भारतीय नेतृत्व टोलीको हिस्सा हुनेछन्। यसभन्दा पहिले अग्रवालले अनलाइन ट्याक्सी सेवा प्रदायक उबरमा भारत र दक्षिण एशियाको लागी सार्वजनिक नीति प्रमुखको रूपमा सेवा गरेका थिए।
अग्रवाल भारतीय प्रशासनिक अधिकारीको रूपमा २६ बर्षसम्म सरकारी सेवामा थिए।
प्रकाशित: ५ आश्विन २०७८, मंगलवार