
काठमाडौं ।
इन्टेलले गत बिहीबार यूरोपमा आगामी दशकसम्म चिप निर्माणका क्षेत्रमा ८० अर्ब डलरसम्म लगानी गर्ने घोषणा गरेको छ।
कम्पनीले यूरोप क्षेत्रमा चिप उत्पादनको क्षमता अभिवृद्धि गर्नका लागि यो लगानी गर्ने योजना ल्याएको बताउँदै अटो निर्माताहरुका लागि आवश्यक सेमिकन्डक्टर उत्पादनका लागि आयरल्यान्डमा प्लान्ट स्थापना गर्ने पनि बताएको छ।
इन्टेलका सीईओ प्याट गेल्सिंगरले हालै जर्मनीको म्युनिखमा भएको आईएए अटो शो का क्रममा बोल्दै कम्पनीले यूरोपमा स्थापना गरिने दुई मुख्य फ्याब्रिकेशन प्लान्टको ठेगानाका बारेमा यसै वर्षको अन्त्यसम्ममा जानकारी गराउने बताए।
उनको संकेत अनुसार जर्मनी, फ्रान्स तथा पहिलेदेखि नै इन्टेलको उपस्थिति रहेको पोल्यान्ड पनि ती फ्याब्रिकेशन प्लान्ट राखिने देशमा पर्न सक्ने आकलन गरिएको छ।
गेल्सिंगरले यी फ्याब्रिकेशन प्लान्टमार्फत् आगामी दश वर्षभित्र ८० अर्ब डलर अर्थात् ९४.७७ अर्ब यूरो लगानी गर्ने उद्देश्य रहेको र यसले सेमिकन्डक्टर उद्योग र समग्र प्रविधि उद्योगमा सहयोगीको भूमिका निर्वाह गर्ने बताए।
इन्टेलले गत मार्चमा अन्य कम्पनीले पनि प्रयोग गर्नसक्ने गरी चिप उत्पादन गर्ने फ्याक्ट्री स्थापना गर्ने घोषणा गरेको थियो।
सीईओ गेल्सिंगरले गत अप्रिलमा कम्पनीले आगामी ६ देखि ९ महिनाभित्र अटो निर्माताका लागि चिप उत्पादन गर्ने योजना बनाएको बताएका थिए।
‘कारहरुमा कम्प्युटर पनि टायरजत्तिकै अपरिहार्य भइसकेका छन्। तपाईँलाई हामी र हामीलाई तपाईँ चाहिन्छ। हाम्रो मुख्य उद्देश्य यूरोपका लागि यूरोपमा नवप्रवर्तन केन्द्र स्थापना गर्ने हो’, उनले भने।
प्रकाशित: २३ भाद्र २०७८, बुधबार