
काठमाडौं ।
काठमाडौ विश्वविद्यालयले आगामी सेप्टेम्वर २०२१ बाट आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता) विषयमा स्नातक र स्नातकोत्तर तहमा कार्यक्रम सुरु गर्ने भएको छ।
काठमाडौ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ्ग अन्तर्गत कम्प्यूटर साइन्स एण्ड इन्जिनियरिङ्ग विभागले आगामी सेप्टेम्वर २०२१ बाट दुई वटा नयाँ शैक्षिक कार्यक्रमहरु आर्टिफिसियल इन्टेलिजेन्स (बीटेक/एमटेक एआई) विषयमा स्नातक र स्नातकोत्तर तहमा कार्यक्रम सुरु गर्ने भएको छ।
विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डीन प्रा.डा. मनीष पोखरेलले भने, ‘विश्वको अर्थतन्त्रका साथै विश्वसामु आएका विभिन्न चुनौती समाधानका लागि आर्टिफिसियल इन्टेलिजेन्सको आवश्यकता रहेकाले यो विषयको पढाइ सुरु गर्न लागेका हौँ ।’
उनले आगामी सेप्टेम्बर महिनादेखि पढाइ सुरु बताए । यस वर्ष स्नातक तहमा ३० जना र स्नातकोत्तर तहमा १० जना विद्यार्थी भर्ना लिने उनले बताए ।
नेपालमा पहिलो पटक यो शैक्षिक कार्यक्रम काठमाडौं विश्वविद्यालयबाट संचालन गरिन लागेको हो।
ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्सले पर्याप्त व्यवहारिक प्रशिक्षण दिएर स्नातक विद्यार्थीहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धि व्यवहारीक ज्ञान प्रदान गरिने जनाइएको छ।
यस कार्यक्रमका स्नातकहरुले एआई प्रविधि र विधिहरु प्रयोग गरि यस कार्यक्रमसंग सम्वन्धित कम्पनी तथा संस्थाहरुमा डाटामा आधारीत निणर्यहरु कार्यान्वयन गर्न सक्नेछन्। त्यसैले यो कोर्षमार्फत सम्बन्धित विद्यार्थीहरुले विभिन्न डाटा विश्लेषण गर्न सक्नुको साथै स्वचालित मेशिन प्रविधि निमार्ण गर्न सक्नेछन्।
यो कार्यक्रम प्राविधिक आधारभुत प्रोग्रामिङ्ग, कम्प्यूटर विज्ञान, गणित र सांख्यिकीको परिचयात्मक पाठ्यक्रमबाट शुरु हुनेछ। बिस्तारै यो कोर्षमा विद्यार्थीहरुले मुख्य एआई अवधारणाको साथै पछि कुनै परिपेक्षको खोज, गेम डेभलपमेन्ट, मेशीन लर्निङ्ग, न्यूरल नेटवर्क, कम्प्यूटर भिजन, भाषा सम्वन्धी र अधिक जटिल विषयहरु सहितका प्रविधिहरु सिक्नेछन् ।
काठमाडौ विश्वविद्यालयको चार वर्षको यो शैक्षिक कार्यक्रको लागि कुल शुल्क ८ लाख रूपैयाँ निर्धारण गरिएको छ।
त्यसैगरि मास्टर्स अफ टेक्नोलाजी इन आर्टिफिसियल इन्टेलिजेन्समा कौशल, ज्ञान, उन्नत गणना, डाटा विज्ञान र एआई अध्ययनसँग सम्बन्धित अभ्यासहरुको लागि हो, जसले स्थानीयका साथसाथै विश्वव्यापी रुपमा नयाँ अवसरहरु सिर्जना गर्न मद्दत गर्नेछ।
विशेष गरी यसमा न्युरल नेटवर्क, फज्जी सिस्टम, इभोलुसनरी कम्पुटिसन कभर गरिने जनाइएको छ । यस कार्यक्रमको पाठ्यक्रम भित्र मुख्यतया मसिन लर्निङ, न्युरल नेटवर्क, बिग डाटा एनालाइटिक्स, इन्फर्मेसन रिट्रेभल, फज्जी सिस्टम र इभोलुसनरी कम्पुटिसन समावेश गरिएको छ।
दुई वर्षे शैक्षिक कार्यक्रको लागि कुल शुल्क ३ लाख ९५ हजार रूपैयाँ निर्धारण गरिएको छ।
प्रकाशित: २८ श्रावण २०७८, बिहीबार