
काठमाडौं ।
हालैको एउटा नयाँ रिपोर्टले यो वर्ष यूनिसोकको स्मार्टफोन चिप हाइसिलिकनको बिक्रीमा वार्षिक १५२ प्रतिशत वृद्धि भएर ६ करोड ८२ लाख थान पुग्ने प्रक्षेपण गरेको छ।
यो प्रक्षेपण सही भएको खण्डमा यूनिसोकले ह्वावे हाइसिलिकनलाई उछिन्दै सबैभन्दा धेरै स्मार्टफोनको चिप बिक्री गर्ने सूचीको तेस्रो नम्बरमा उक्लिनेछ।
डिजिटाइम्सको रिपोर्ट अनुसार यी स्मार्टफोन चिपहरु चिनियाँ फोनहरुमा प्रयोग गर्नका लागि बनाइएका हुन्। यसबाहेक रिपोर्टमा यूनिसोकले सन् २०२० मा चिनियाँ ब्रान्डका लागि २ करोड ७१ लाख थान स्मार्टफोन चिप मात्र बिक्री गरेको उल्लेख छ। साथै यसले अनर, रियलमी तथा लेनोभोजस्ता कम्पनीलाई आफ्नो ग्राहक सूचीमा थपिसकेको छ।
यस हिसाबले यो वर्ष यूनिसोकले स्मार्टफोन एप्लिकेशन चिपको बिक्रीमा उल्लेख्य छलाङ मार्ने आकलन गर्न सकिन्छ।
फोरजी स्मार्टफोन आपूर्तिमा कमी आइरहेको अवस्थाबाट अहिले यूनिसोकलाई निकै फाइदा भइरहेको छ।
यसको पछाडि क्वालकम तथा मिडियाटेक हाल फाइभजी स्मार्टफोनप्रति लक्षित भएकाले फोरजी चिपमा यूनिसोकको सम्भावना बढेको हो।
भारत तथा दक्षिण एसियाली क्षेत्रका ठूला बजारमा पनि यूनिसोकका चिपको बिक्री बढेकाले यो आँकडामा बढोत्तरी आउनमा सहयोग पुगेको हो।
प्रकाशित: १५ श्रावण २०७८, शुक्रबार