
काठमाडौं ।
वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन स्याङ्जाको वालिङका शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गरिएको छ ।
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थी गरी सात हजार ५०० जनाका लागि पाँच हजार नेपाल टेलिकम र दुई हजार पाँच सय एनसेलले इन्टरनेट प्याकेजसहितका सिमकार्ड निःशुल्क उपलब्ध गराएको शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले बताए ।
‘विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन हुने स्थिति रहेन’, शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले भने, ‘सबै विद्यार्थीको पहुँचमा इन्टरनेट सेवा उपलब्ध नहुँदा वैकल्पिक शिक्षक सिकाइ क्रियाकलाप प्रभावकारी हुन नसकेकाले टेलिकम र एनसेलको सहयोगमा इन्टरनेट प्याकेजसहितको सिमकार्ड निःशुल्क उपलब्ध गराएका हौं ।’
नगरभित्रका १४ वडाका ७२ सामुदायिक विद्यालयका ४५० शिक्षकसहित सात हजार ५०० विद्यार्थीलाई उनीहरुको ठाउँमा जुनजुन कम्पनीको सेवा राम्रो छ सोही अनुसारका सिम उपलब्ध गराइएको शाखा प्रमुख सापकोटाले बताए ।
सामुदायिकतर्फ ५६ आधारभूत विद्यालय र १६ माध्यमिक विद्यालय रहेको नगरपालिकाभित्र सिमकार्ड निःशुल्क वितरण गरिएको हो । नेपाल टेलिकमको सिमकार्डमा इन्टरनेट प्याकेजका लागि रु ३२१ र एनसेलको सिमकार्डमा रु ३१० ले एक महिनासम्म इन्टरनेट चलाउन सकिने छ । त्यसपछि शिक्षक/विद्यार्थी आफैले रिचार्ज गर्नुपर्नेछ ।
‘वैकल्पिक शिक्षण क्रियाकलापका लागि जिल्लामै नगरपालिकाले सञ्चालन गरेको यो अभियान पहिलो र नयाँ हो’, सापकोटाले भने, ‘सबै विद्यार्थी तथा शिक्षकको हात–हातमा इन्टरनेट प्याकेजसहितको सिमकार्ड भएपछि शिक्षण सिकाइ क्रियाकलाप थप प्रभावकारी हुने विश्वास लिएका छौं ।’
शिक्षक र विद्यार्थीलाई उनीहरूको ठाउँमा जुन कम्पनीको प्रभावकारी छ सोहीअनुसारको सिम उपलब्ध गराइएको हो । नेपाल टेलिकमको सिमकार्डमा इन्टरनेट प्याकेजका लागि तीन सय २१ र एनसेलको सिमकार्डमा तीन सय १० रुपियाँले एक महिनासम्म इन्टरनेट चलाउन सकिने छ । पहिलो चरणमा पालिकाले रिचार्जसहित सिमकार्ड प्रदान गरेपछि दोस्रो चरणबाट शिक्षक र विद्यार्थीलेआफैंले रिचार्ज गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।
वैकल्पिक शिक्षण क्रियाकलापका लागि जिल्लामै वालिङ नगर पालिकाले सञ्चालन गरेको अभियान पहिलो र नयाँ भएको बताउँदै शाखा प्रमुख सापकोटाले सबै विद्यार्थी तथा शिक्षकको हातहातमा इन्टरनेटको प्याकेजसहितको सिमकार्ड भएपछि शिक्षण सिकाइ क्रियाकलाप थप प्रभावकारी हुने दाबी गरे ।
नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा कम्प्युटर शिक्षकलाई आइसिटीमा आधारित आधारभूत शिक्षण विधिलाई सहयोग पुग्नेगरी अनलाइनसम्बन्धी ज्ञान दिइसकिएको सूचना प्रविधि शाखाका प्रमुख इञ्जिनीयर प्रकाश अर्यालले बताए। सोह्र माध्यमिक विद्यालयमा कम्प्युटर र प्रिन्टर वितरण गरिसकिएको छ भने इन्टरनेट सेवा प्रदायकसँग सम्झौता गरी इन्टरनेटको सेवा विस्तार गरिएको उनले बताए।
कोभिड–१९ को महामारीका कारण प्रभावित बनेको शिक्षण सिकाइ क्रियाकलापलाई व्यवस्थित, प्रभावकारी र उपयोगी बनाउन यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए । इन्टरनेटको पहुँच नपुगेकै कारण वैकल्पिक सिकाइ प्रभावकारी हुन नसकिरहेको भन्ने गुनासो आइरहँदा यसको समाधानका लागि इन्टरनेट प्याकेजसहितका सिमकार्ड वितरण गरिएको भट्टराईले बताए ।
‘सिमकार्डको प्रयोग भए नभएको साथै पठनपाठन भए नभएको निरन्तररुपमा अनुगमन तथा मूल्याङ्कन गरिने व्यवस्था मिलाइएको छ’, उनले भने, ‘राज्यले शिक्षामा गरेको लगानीअनुसारको प्रतिफल आउने गरी र वालिङलाई स्मार्ट सिटीको अवधारणा अनुरुप अगाडि बढाउन लाग्नुपर्ने बेला आएको छ ।’
कोभिड–१९ का कारण भौतिकरुपमा विद्यालयमा उपस्थित हुनसक्ने अवस्था नभएकाले वैकल्पिक सिकाइ क्रियाकलापका लागि नेपाल टेलिकम र एनसेलको सहयोगमा निःशुल्क सिमकार्डको व्यवस्था गरिएको नगर प्रमुख दिलीपप्रताप खाणले बताए।
वैकल्पिक कक्षा सञ्चालनका क्रममा आउन सक्ने सम्भावित अप्ठयारालाई सम्बोधन गर्दै विभिन्न विकल्पको खोजी गर्ने क्रममा यो विधि अपनाइएको उनको भनाइ थियो । शिक्षासँगै बालबालिकाका क्षेत्रमा विनियोजन गरिएको रकम खर्च नभइ लगानी भएको र यसले भोलिका दिनमा उपलब्धि देखिंँदै जाने उनको भनाइ थियो ।
‘नगरभित्रका माध्यमिक विद्यालयमा इन्टरनेटको पहुँच पुगेको छ’, उनले भने,‘अब आधारभूत तहका विद्यालयमा पनि इन्टरनेटको पहुँच विस्तारका लागि सम्झौता भई काम पनि भइरहेको छ ।’
नगरभित्रका १४ वटै वडाका ३१० गाउँमा इन्टरनेटको पहुँच विस्तारका लागि सेवा प्रदायकसँग सम्झौता भई काम अगाडि बढिसकेको नगर प्रमुख खाँणले बताए।
गाउँ–गाउँमा इन्टरनेटको सहज पहुँच नपुग्दासम्मका लागि शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिमकार्डको व्यवस्था मिलाइएको उनको भनाइ थियो ।
‘नगरभित्रका सबै विद्यालयबाट प्रतिनिधिका रुपमा दुई जनालाई तालीम दिइएको र उहाँहरुले आ–आफ्नो विद्यालयमा अन्य शिक्षकलाई सिकाउनुहुने छ’, प्रमुख खाँणले भने, ‘शिक्षकको क्षमता विकास तथा आवश्यक सामग्री (ल्यापटप, कम्प्युटर, प्रिन्टर, स्क्यानर, इन्टरनेट) को व्यवस्था मिलाउने र त्यसको प्रयोगमा जोड दिँदै नगरलाई आइसिटीका रुपमा विकास गर्दै लगिने छ ।’
माध्यमिक तहका १६ विद्यालयलाई कम्युटर, ल्यापटप, स्क्यानर, प्रिन्टर उपलब्ध गराइसकेको छ भने आधारभूत तहका ५६ विद्यालयमध्ये पहिलो चरणमा २४ विद्यालयलाई कम्प्युटर र प्रिन्टर उपलब्ध गराइएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को शिक्षा क्षेत्रको स्वीकृत कार्यक्रम तथा बजेटअन्तर्गत विद्यालयमा कम्प्युटर तथा अनलाइन सफ्टवेयर व्यवस्थापनका लागि रु २० लाख विनियोजन गरेको थियो । बाँकी रहेका ३२ विद्यालयलाई यही साउनभित्रै बोलपत्र गरी उक्त सामग्री उपलब्ध गराउने तयारी भएको नगरपालिकाले जनाएको छ ।
प्रकाशित: १५ श्रावण २०७८, शुक्रबार