काठमाडौं ।
चिनियाँ स्मार्ट डिभाइस कम्पनी अनरले यसै हप्ताको शुरुवातमा चीनमा नयाँ वाइफाइ राउटर सार्वजनिक गरेको छ।
अनर राउटर एसई नाम गरेको वाइफाइ ६ स्ट्यान्डर्ड तथा ह्वावे हाइलिंक सपोर्ट गर्ने उक्त डिभाइस प्रि अर्डरका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ।
आधिकारिक नोटहरुका अनुसार यो नयाँ राउटरमा पूर्णरुपमा गिगाबिट इथरनेट पोर्ट दिइएको छ भने २.४ र ५ गिगाहर्जको गिगाबिट डुअल ब्याण्ड वाइफाइ राखिएको छ जसले १५०० एमबीपीएससम्मको वायरलेस डाटा ट्रान्सफर गर्न सक्छ।
चिनियाँ स्मार्टफोन निर्माता कम्पनी अनरले उक्त राउटरलाई अनलाइन कक्षा/शिक्षा देखि भिडियो गेम स्ट्रिमिङसम्मका लागि मिल्नेगरी अप्टिमाइज गरेको बताइएको छ।
यो राउटरको स्पेसिफिकेशन ह्वावे एएक्स२ प्रो राउटरसँग मिल्दोजुल्दो रहेको छ।
राउटरमा अनर म्याजिक राउटर अपरेटिङ सिस्टम तथा डुअल कोर प्रोसेसर रहेको छ।
यसमा १२८ एमबी र्याम तथा १२८ एमबी नै आन्तरिक स्टोरेज पनि राखिएको छ। यसले ह्वावे हाइ लिंक पनि सपोर्ट गर्नुका साथै यसमा विभिन्न सुरक्षा फिचरहरु पनि राखिएका छन्।
थ्रु द वाल, स्ट्यान्डर्ड र स्लीप गरी तीन ओटा वाइफाइ मोड उपलब्ध गराइएको छ। चीनमा यसको २१९ युआन अर्थात ३४ डलर आसपास तोकिएको छ। तर प्रि अर्डर गर्नेले १९९ युआन अर्थातु ३१ डलर हाराहारीमै पाउने र यसको आधिकारिक बिक्री तथा डेलिभरी अगस्ट ३ तारिददेखि शुरु हुने बताइएको छ।
प्रकाशित: १२ श्रावण २०७८, मंगलवार