
काठमाडौं ।
माइक्रोब्लगिङ साइट ट्विटरले कोरोनाबारे मिथ्या सूचना पोस्ट गरेको भन्दै अमेरिकी रिपब्लिकन विधायिका मर्जोरी टेलर ग्रीनको एकाउन्ट सस्पेन्ड गरेको छ।
कम्पनीले उक्त विधायकको एकाउन्ट १२ घण्टाको लागि रिड वन्ली मोडमा जाने बताएको छ।
रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी संसदकी विधायिका ग्रीनले हालै कोरोनाविरुद्धको खोप र मास्कको प्रयोगबारे गैरजिम्मेवार टिप्पणी गरेकी थिइन्।
अघिल्लो महिना उनले कोरोनाका कारण मास्क लगाउनु नाजीको समयमा जर्मनीमा यहुदीहरामाथि गरिएको व्यवाहर जस्तै भएको टिप्पणी गरेर विवादमा आएपछि माफी मागेकी थिइन्।
गत सोमबार उनले दुई ओटा ट्विट गर्दै कोरोनाका लागि खोप आवश्यक नहुने र ६५ वर्षमुनिका र मोटोपना नभएका व्यक्तिका लागि कोरोना घातक नभएको बताएकी थिइन्।
उनका यी दुवै पोस्ट ट्विटरमा अझै देख्न सकिन्छ तर ट्विटरले यसमा ‘मिस्लिडङ’ को ट्याग पनि झुन्ड्याइदिएको छ।
उनलाई ट्विटरले अप्रिलमा पनि प्रतिबन्ध लगाएर पछि फुकुवा गरेको थियो।
अहिले भने उनको हालको प्रतिबन्धका सम्बन्धमा ग्रीनले सिलिकन भ्यालीका संस्थाहरुले ह्वाइट हाउसको समर्थनमा वाक स्वतन्त्रतामाथि हमला गरेको आरोप लगाएकी छिन्।
‘यी ठूला प्रविधि संस्थाहरुले हाम्रो आवाज दबाउन र राज्यद्वारा अनुमोदन नगरिएका कुनै सन्देश नफैलाउन बाइडेनको राज्यको बोलकबोल गरिरहेका छन्’, उनले न्यूयोर्क टाइम्समा प्रकाशित एक विज्ञप्तिमा उल्लेख गरेकी छिन्।
बीबीसीबाट
प्रकाशित: ५ श्रावण २०७८, मंगलवार