
काठमाडौं ।
यो वर्षको मनसुन अर्थात वर्षातको मौसम चलिरहेकोछ। दैनिकरुपमा परिरहेको पानीमा तपाईँको मोबाइल फोनलगायतका अन्य ग्याजेट भिज्न सक्छ। पानीले भिजेपछि ति ग्याजेट कामै नलाग्ने बन्न सक्छन। त्यसैले,यस्ता वस्तुहरुलाई पानीबाट जोगाउन समयमै साबधानी अपनाउनुपर्ने हुन्छ।
अझ हरेक क्षण हातमा नै हुने वा गोजीमा बोकेर हिँड्ने मोबाइल फोनको सुरक्षा निकै महत्वपूर्ण हुन्छ । यस्तो बेलामा तपाईको मोबाइल फोन वर्षात अवधिभर सुरक्षित बनाउन यी उपायहरु उपयुक्त हुन्छन् ।
मोबाइल फोन भिज्नबाट यसरी जोगाउनुस्-
इयरफोनको प्रयोग
बर्षातको समयमा कल रिसिभ गर्नुपर्दा फोनलाई बाहिर निकालेर कुरा गर्दा पानी पस्ने वा भिज्ने हुँदा ब्लुटुथ अथवा इयरफोन प्रयोग गर्न सकिन्छ। बजारमा वाटरप्रुफ ब्लुटुथ र हेड्सेटहरु पनि उपलब्ध छन् ।
वाटरप्रुफ मोबाइल ब्याग
मोबाइल नै बोक्न वा राख्नका लागि बनाइएका वाटरप्रुफ ब्यागहरु पनि बजारमा प्रशस्त पाइन्छन् । बिशेष सुविधायुक्त यी ब्यागमा फोन राखेर बाहिरैबाट प्रयोग गर्न मिल्छ भने केही ब्यागलाई पाइन्ट वा बेल्टमा बाँध्न मिल्ने सुविधा हुन्छ । यसले गर्दा मोबाइलको सुरक्षामा न्यूनतम ध्यान दिँदा पनि हुन्छ ।
जिप-लक पाउचको प्रयोग
बर्षातमा आफ्नो मोबाइल सेटलाई भिज्नबाट जोगाउन बिशेष प्रकारले निर्माण गरिएको मोबाइल जिप लक खरिद गर्न सकिन्छ। बजारमा सजिलै पाइने जिप–लक पाउच वाटरप्रुफ प्याकेट हो । सस्तो मूल्य, सरल तथा पुनः प्रयोग गर्न सकिने विशेषताहरुका कारण यसलाई वर्षामा मोबाइल तथा ग्याजेटहरू जोगाउन प्रयोग गर्न सकिन्छ । यसभित्र मोबाइललाई राखेर वर्षामा पानीबाट जोगाउन सकिन्छ ।
बेलुनको कभर
एउटा बेलुन फुलाउने र उक्त फुलेको बेलुनमा मोबाइल टाँसेर थिच्दै क्रमशः बेलुन उल्टो हुने गरी बेलुनभित्र मोबाइल हाल्ने । त्यसो गर्दा फोन बेलुनभित्र छिरेपछि त्यसमा भएको सम्पूर्ण हावा निकालेर बेलुनलाई बाँध्ने । यसबाट पनि फोनलाई पानी र अन्य तरल पदार्थबाट जोगाउन सकिन्छ ।
वाटरप्रुफ स्प्रे कोट
बजारमा बिभिन्न ब्रान्डका वाटरप्रुफ स्प्रे उपलब्ध हुन्छन् । उक्त स्प्रे फोनमा छर्किएपछि करिब ६ देखि १२ महिनासम्म फोन वाटरप्रुफ हुन्छ । यसले गर्दा वर्षामा पानीको प्रयोग भए पनि मोबाइल सुरक्षित रहन्छ । तर यसले अन्य असर पार्ने तर्फ भने सचेत हुनुपर्दछ ।
सामान्य प्लास्टिक कभर
कम खर्चमै यो समस्या समाधान गर्नुछ भने सामान्य प्लास्टिकले बनेको कभर ब्याग प्रयोग गर्न सकिन्छ। प्लास्टिकबाट बनेका जिप प्याक बजारमा प्रसस्त उपलब्ध छन्। यस्ता प्याकमा पानीका साथै अन्य कुनै तरल पदार्थ पस्दैन । तपाईँले आफ्नो मोबाइलको साइजमा यस्तो कभर प्रयोग गर्न सक्नुहुन्छ ।
वाटरप्रुफ मोबाइल फोनको प्रयोग
बजारमा वाटरप्रुफ मोबाइल फोन पनि उपलब्ध छन्। यस्ता मोबाइल सेटमा हल्काफुल्का वर्षा वा सामान्य पानी पर्दा पनि कुनै समस्या हुदैन। केहि महंगा मोबाइल फोन सेटहरु निश्चित तहसम्म वाटर रेसिष्ट वा वारप्रुफसहित बजारमा उपलब्ध छन् । फोनमा आईपी ६७ वा आईपी ६८ जस्ता रेटिङ्ग भएका फोन किन्दा ति पानीबाट अधिक सुरक्षित हुन्छन् ।
डिफल्ट कल सेटिङ्ग
आफु पानीमा भिजिरहेको बेला वा फोन रिसिभ गर्न नसकिने अवस्थामा फोन उठाउनु भन्दा कल काटेरपछि कल ब्याक गर्ने वा डिफल्ट फोनमै म्यासेज जाने ब्यबस्था गर्न सकिन्छ। फोन काट्दा स्वचालित रुपमै कलरको मोबाइलमा जान्छ, जसले गर्दा पछि कल गर्न सकिन्छ अथवा फेरीपछि उसले नै कल गर्न सक्छ।
भिजेका कारण मोबाइलमा कुनै खराबी आयो भने त्यसलाई आफै जथाभावी रूपमा बनाउने प्रयास गर्नु हुँदैन । भिजेको मोबाइलबाट कतै कल गर्नु हुदैन। त्यसो गर्दा ब्याट्रीमा सर्ट सर्किट भएर मोबाइलमै खराबी आउन सक्छ।
तपाईले आफ्नो मोबाइल फोन पानीमा भिज्नबाट जोगाउने निकै प्रयास गर्दा पनि पानीमा भिज्यो भने आफैं बनाउने प्रयास नगर्नुस् । त्यस्तो बेलामा यी उपायहरु अपनाउनुस्
फोन भिज्यो भने के गर्ने ?
झुक्किएर पनि पानी पसिहालेको खण्डमा, महँगो मोबाइल फोनलाई त्यत्तिकै खेर फाल्नु पनि सकिदैन । यस्तो अवस्थामा निम्न उपाय अपनाउन सकिन्छ। सुरक्षाका विभिन्न उपाय अपनाउँदा पनि मोबाइल फोनमा पानी पसिहाल्यो भने पनि चिन्तित भैहाल्नु पर्दैन ।
फोन भिजेको बेलामा अन छ भने अफ नगर्नुहोस वा अफ छ भने अन नगर्नुहोस्।
मोबाइल जोगाउन प्रयोग गरिएको खोल निकाल्नुहोस् साथै मेमोरी कार्ड तथा सिमकार्ड पनि फोन बाहिर झिक्नुहोस । सकेसम्म मोबाइलबाट ब्याट्री पनि झिक्नुहोस्। तर ब्याट्री झिक्दा सतर्क हुनुहोस् ।
भिजेको मोबाइललाई सुख्खा कपडाले पुछ्नुहोस्, याद राख्नुहोस् यसो गर्दा मोबाइलमा पानी फैलन दिनुहुँदैन । फोनको पानी कपडाले सोसेजति सोस्न दिनुहोस् ।
पानी राम्रोसँग पुछेपछि त्यसलाई चामल राखिएको भाँडोमा करिब ८/९ घण्टा राख्नुपर्छ। फोनलाई चामलभित्र राख्दा फोनभित्रको पानी चामलले सोस्छ, तर यसो गर्दा चामलको भुस फोनभित्र पसेर फोन बिग्रने सम्भावना हुनसक्छ ।
मोबाइल फोनलाई तुरुन्तै अन गर्नु हुँदैन । नसुक्दासम्म त्यसलाई अन नगर्नु नै राम्रो हुन्छ ।
पानीले भिजिहाले के गर्नु हुँदैन् ?
फोन अन गर्ने गल्ती नगर्नुहोस । त्यसैगरी फोनका कुनै पनि बटन नथिच्नुहोस । पानी निस्कन्छ भनेर फोनलाई हल्लाउने गल्ती पनि नगर्नुहोस । पानी सुकाउन फोनमा फुक्ने काम गर्दा पानी थप फिँजिन सक्छ । त्यसैले यो गल्ती पनि नगर्नुहोस् र फोनलाई आगोको छेउमा राखेर तताउने कार्य पनि नगर्नुहोस ।
मोबाइल फोन पानीमा भिजेपछि अधिकांश मानिसहरुले फोनलाई घाममा सुकाउने गर्छन तर त्यसो गर्न हुँदैन । यदि घाममै राख्न चाहनुहुन्छ भनेपनि कुनै कपडाले छोपेर राख्नु उपयुक्त हुन्छ । फोनमा घामको सिधा असर पर्न दिनु हुँदैन । ब्याट्रीलाई पनि सीधै घाममा राख्नु हुँदैन्।
कसै-कसैले मोबाइल फोन सुकाउन हेयर ड्रायर प्रयोग गर्छन्, तर यो उपाय कुनै पनि हालतमा प्रयोग गर्नु हुँदैन । फोनमा धेरै हल्का र नाजुक खालका कम्पोनेन्टहरु प्रयोग गरिएको हुन्छ । ती कम्पोनेन्ट गर्मी आगो वा ड्रायरको तिब्र गतिको हावाका कारण खराब हुन सक्छन् । फलस्वरूप फोनमा थप समस्या सिर्जना हुन सक्छ।
मोबाइल फोन सुकेपछि पनि तुरुन्तै प्रयोगमा ल्याउनु हुँदैन। केही समय त्यत्तिकै राख्नुपर्छ र यसलाई चार्जमा पनि राख्नु हुँदैन । ब्याट्री अझै पनि भिजेको हुन सक्छ,जसका कारण सर्ट सर्किट हुन सक्छ । सर्ट सर्किट भएमा ब्याट्री पड्किने वा आगो लाग्ने संभावना हुन्छ । त्यसैले कमसेकम २/३ घण्टापश्चात् मात्र फोन प्रयोग गर्नु राम्रो हुन्छ।
यसपछि पनि मोबाइल फोन अन भएन भने कम्पनीको आधिकारिक सर्भिस सेन्टरमा लैजानुस् । जहाँ तपाईँको पानीले बिग्रिएको फोन मर्मत हुनेछ।
यो पनि हेर्नुस्-
के हो आईपी ६७ र आईपी ६८ रेटिङ, स्मार्टफोनमा किन हुन्छ यसको चर्चा?
प्रकाशित: २४ असार २०७८, बिहीबार