डिजिटल प्रविधिबाट मालपोत कार्यालयमा सेवाग्राहीलाई सेवा

  • Technology Khabar | २४ असार २०७८, बिहीबार
डिजिटल प्रविधिबाट मालपोत कार्यालयमा सेवाग्राहीलाई सेवा

काठमाडौं ।

हुम्ला जिल्ला मालपोत कार्यालयमा डिजिटल प्रविधिबाट सेवा प्रवाह सुरु गरिएको छ । ‘पेपर लेस’ कार्यालय बनाउने लक्ष्यका साथ सेवा सुरु गर्न आधुनिक सञ्चार प्रविधिबाट काम सुरु गरिएपछि सेवाग्राहीले अनलाइनबाटै सेवा पाउन थालेका हुन् ।

जिल्ला मालपोत कार्यालय हुम्लामा जग्गा रजिस्ट्रेसनको काम गर्न आएकी नाम्खा गाउँपालिका–५,मुचु गाउँकी पेमा लामाले पहिलेजस्तो कागजी लेखापढी नभएर कम्प्युटरबाट सेवा लिन पाएको बताईन्। उनले काम पनि छिटो हुने र सेवाग्राहीले ढिलोसम्म कुर्नु नपर्ने भएको हुँदा यो प्रविधिबाट काम गर्दा फाइदा भएको जानकारी दिईन् ।

पहिलो पटक अनलाइनबाट कार्यालयका सेवा प्रवाह गर्न पाएको बताउँदै कार्यालय प्रमुख रबीन्द्र शाहीले यसबाट कार्यालय र सेवाग्राहीलाई सहज भएको बताए। अनलाइनबाट पहिलो सेवाग्राहीलाई सेवा प्रदान गर्दै उनले इन्टरनेट र विद्युत्को समस्या नआएमा काम गर्न कुनै कठिनाइ नहुने बताए ।

भू–आयोजना अभिलेख प्रर्णालीबाट काम गर्न पाएपछि पुराना लिखत खोज्नुपर्ने झन्झटबाट पनि मुक्ति मिलेको कर्मचारीहरूको दावी छ ।

कार्यालयमा कर्मचारी अभाव भएको र त्यसको समाधानका लागि दक्ष कर्मचारीको आवश्यक पर्ने हुँदा त्यसको लागि विभाग र मन्त्रालयसमेतलाई आग्रह गरिएको शाहीले बताए ।

हुम्ला जिल्लाको मालपोत कार्यालयका काम डिजिटल सेवाबाट सुरुवात गर्दै एक दिनअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले जुम मिटिङबाट उक्त सेवा शुभारम्भ गरेका थिए । त्यस अवसरमा उनले देशभरका कार्यालयहरूलाई कागज लेस बनाउने गरी कार्यान्वयनमा ल्याउने क्रम जारी रहेको बताए। सचिव टेक नारायण पाण्डेले यो कामको सुरुवातसंँगै कर्मचारीलाई आर्थिक लाञ्छना लाग्ने कामले पनि विश्राम लिने विश्वास व्यक्त गरे ।

यो कार्यले मन्त्रालयको साधारण खर्च घट्ने, आर्थिक सुशासन कायम हुने, अत्यावश्यकबाहेक अन्य सेवाका लागि सेवाग्राही कार्यालयमा धाउनुपर्ने झन्झटबाट मुक्ति मिल्ने विश्वास गरिएको छ ।

मन्त्रालयअन्तरगत मुलुकभरि १२६ वटा कार्यालय रहेकोमा आइतबारबाट मुलुकमा ११८ वटा कार्यालयमा डिजिटल सेवा पुगेको बताइएको छ । अब आठवटा कार्यालय मात्र डिजिटल सेवामा जान बाँकी रहेकोमा ती कार्यालयहरूलाई समेत निकट भविष्यमा प्रविधिमैत्री बनाएर यस्तै सेवा सुचारु गरिने जनाइएको छ । गोरखापत्रबाट

प्रकाशित: २४ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार