
काठमाडौं ।
क्वालकम टेक्नोलोजिजले आफ्नो अहिलेसम्मको शक्तिशाली र अत्याधुनिक स्न्यापड्रागन ८८८+ प्रोसेसर आधिकारिक रुपमा सार्वजनिक गरेको छ।
यो चिपसेट विशेषगरी फाइभजी प्रविधियुक्च फ्ल्यागशिप स्मार्टफोनमा प्रयोग गर्ने हिसाबले ल्याइएको बुझिएको छ।
यो यसअघिको स्न्यापड्रागन ८८८ को सुधारिएको भर्सन हो। यसमा २.८४ गिगाहर्जसम्मको फ्रिक्वेन्सी भएको एउटा शक्तिशाली कर्टेक्स-एक्स१ कोर, तीन ओटा उच्च क्षमतायुक्त कर्टेक्स ए-७८ कोर तथा चार ओटा कम उर्जा खपत गर्ने कर्टेक्स ए-५५ कोरको सम्मिश्रण रहेको छ।
यो प्रोसेसरमा एड्रिनो ६६० ग्राफिक्स एक्सलरेटर तथा ७.५ जीबीपीएससम्म डाटा ट्रान्सफर गर्न सक्ने क्षमतायुक्त स्न्यापड्रागन एक्स६० फाइभजी मोडेम समावेश गरिएको छ।
यसको अधिकतम क्लक स्पीड ३ गिगाहर्जको छ भने ग्राफिक्सका लागि यसले ओपनसीएल २.० एफफी, भल्कन १.१, डिरेक्टएक्स १२ तथा ओपनजीएल ईएस ३.२ सपोर्ट गर्छ।
यसबाहेक यसमा एनएफसी प्रविधि, स्याटेलाइट नेभिगेशन रिसिभर जीपीएस, बेईदु ग्यालिलियो तथा ग्लोनासजस्ता सेन्सरहरु राखिएका छन्।
साथमा यूएसबी ३.१ सपोर्ट गर्ने यो चिपसेटले ६० हर्ज रिफ्रेश रेटमा फोरके तथा १४४ हर्ज रिफ्रेश रेटमा क्यूएचडी+ डिस्प्ले सपोर्ट गर्छ।
५ एनएम प्रोसेसमा निर्माण भएको यो चिपले २०० मेगापिक्सेलसम्मको क्यामरालाई सपोर्ट गर्छ। यो चिपसेटयुक्त पहिलो स्मार्टफोन यसै वर्षको तेस्रो त्रैमाससम्ममा आउने आकलन गरिएको छ।
प्रकाशित: १५ असार २०७८, मंगलवार