भारतीय टाटा सन्सले डिजिटल व्यवसायका लागि २ अर्ब डलर उठाउँदै, सूपर एप लन्च गर्ने तयारी

Technology Khabar १० असार २०७८, बिहीबार

काठमाडौं ।

छिमेकी देश भारतमा बहुचर्चित व्यावसायिक घराना ‘टाटा समूह’ ईकमर्स बजारमा प्रवेश गर्ने भएको छ । टाटा समूहको टाटा सन्सले अहिले आफ्नो डिजिटल व्यवसायका लागि विदेशी लगानीकर्ताहरुबाट २/२.५ अर्ब अमेरिकी डलर लगानी जुटाउन पहल थालेको छ। टाटा समूहले आउँदो सेप्टेम्बरसम्म सूपर एपको पाइलट सुरुवात गर्न लागेको छ।

यसका लागि कम्पनीले विश्वव्यापी लगानीकर्तालाई सम्पर्क गरेको बताईएको छ।

टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरन मेमा अमेरिका गएका थिए र त्यहाँ लगानीकर्ताहरूसँग त्यसबारे परामर्श गरेका थिए । इकोनोमिक्स टाइम्सका अनुसार त्यस समयमा उनले आफ्नो भेन्चरको बारेमा प्रबर्द्धन गरेका थिए । टाटा समूहले सेप्टेम्बरमा भारतको बेंगलुरुमा आफ्नो सुपर एपको पाइलट परीक्षण गर्न लागेको छ ।

रिपोर्टकाअनुसार टाटा सन्सले लगानीकर्ता जुटाउन प्रारम्भिक चरणमा प्राइभेट इक्वुटी फण्डबाट लगानी गर्ने र व्यापार वृद्धि भएमा रणनीतिक लगानीकर्तालाई हेर्नेछ । टाटा ग्रुपले स्वास्थ्य र फिटनेस स्टार्टअप ‘क्युरफिट’ मा हिस्सेदारी लिएपछि क्युरफिटका सह संस्थापक मुकेश बन्सललाई हालसालै टाटा डिजिटलको अध्यक्ष बनाईएको छ। उनी पनि लगानी संकलन गर्ने टोलीको प्रमुख सदस्य हुन्।

टाटाको ईकमर्समा प्रवेश भएपछि यसले अमेजन, फ्लिपकार्ट, जियोमार्ट आदिसँग प्रतिस्पर्धा गर्नेछ।

सुपर एप्सले विशेषरूपमा विभिन्न उत्पादनहरू र सेवाहरूको लागि वानस्टप शपको रूपमा काम गर्नेछ । अगस्त २०२० मा टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले टाटा समूहको ओम्नीच्यानल डिजिटल प्लेटफर्म एक सुपर एप हुने बताएका थिए ।

टाटा समूहको यो एपमार्फत प्रयोगकर्ताहरूले सबै प्रकारका अनलाइन सुविधाहरू प्राप्त गर्नेछन्। यसमा ईकमर्श, वित्तीय सेवाहरू, फिटनेस, जीवन शैलीसहित फेशन लगायतका सेवाहरू उपलब्ध हुनेछन्। मिडिया रिपोर्टका अनुसार, एपको उपयोगबाट लोयल्टी प्वाइट पनि उपलब्ध हुनेछ। जुन अन्य टाटाका अन्य सेवाहरू जस्तै भिस्टा उडानहरूमा बुकिङ्ग, होटेलमा बस्नेमा प्रयोग गर्न सकिन्छ ।

विशेष कुरा के हो भने टाटा समूहका अन्य लगानीहरू जस्तै अनलाइन किराना बिगबास्केट, फार्मेसी स्टार्टअप ‘१ एमजी’ पनि एपमा समावेश हुनेछ। यस बाहेक, टाटा क्लिक पनि एपको हिस्सा हुनेछ।

प्रकाशित: १० असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया