
काठमाडौं ।
गरुड नामक नेपाली विद्यार्थीले बनाएको रकेटले ‘न्यान्सी स्क्वायर्स् टिम स्पीरिट अवार्ड’ जितेको छ । रकेट बनाउने विश्वकै सबैभन्दा ठूलो प्रतिस्पर्धा ‘स्पेसपोर्ट अमेरिका कप २०२१’ मा उनीहरुले सो अवार्ड जितेका हुन् ।
नेपाली विद्यार्थीहरु आश्विनी खरेल, सृष्टि पौडेल, रमेश साउद, मोहन तामाङलगायतको समूहले सो रकेट बनाएका हुन् ।
गरुड रकेट बनाउनेमध्येका एक मोहन तामाङलाई उदृत गर्दै १२खरीले सो अवार्ड नेपाली रकेटले हात पारेको उल्लेख गरेको छ । “हाम्रोे मिहिनेत देखेर दिएको हो । यो सान्त्वना अवार्ड नै हो । रकेट राम्ररी बनाउन सकेको भए पहिलोले पाउने प्राविधिक अवार्ड नै जित्थ्यौँ ।” तामाङ्गले भनेका छन् ।
अन्य रकेट बनाउने कम्पनीसँग जनसम्पर्क बढाउनु यो प्रतिस्पर्धाको उद्देश्य थियो ।
बजेटको अभाव र भएका सामानको आधारमा विद्यार्थीहरुले रकेट बनाएका थिए । सो रकेट राम्ररी उड्न सकेको थिएन । उनीहरुले सिन्धुलीको भिमानमा सो रकेटको परीक्षण गरेका थिए ।
शिक्षा मन्त्रालयले रकेट बनाउन १७ लाख रुपैयाँ दिने घोषणा गरेको थियो । तर, सरकारी प्रक्रिया लामो रहेको र यसै वर्ष दिन नसक्ने भन्दै हात झिकेको थियो ।
नाष्टले केही सहयोग गरे पनि चाहिने आवश्यक सामग्री नहुँदा विद्यार्थीले सोचेजस्तो रकेट बनाउन सकेनन् । ३० जनाको समूहले बनाएको सो रकेट नेपालकै पहिलो भएको बताइएको छ ।
विद्यार्थीहरुले ८७ इन्च लामो रकेट बनाएका थिए र त्यसको नाम गरुड राखेका थिए । प्रतिस्पर्धामा ७५ टिम सहभागी थिए ।
गत वर्ष सोहि टिमले बनाएको रकेटको डिजाइन ‘द स्पेसपोर्ट अमेरिका कप’ मा अस्वीकृत भएको थियो।
द स्पेसपोर्ट अमेरिका कप यस्तो प्रतियोगिता हो, जहाँ विश्वभरका कलेज र विश्वविद्यालयका विद्यार्थीहरुबीच रकेट उडाउने प्रतिस्पर्धा हुन्छ। अमेरिकामा हरेक वर्ष आयोजना हुने सो प्रतियोगितामा गत वर्ष विभिन्न देशका १२२ टोली सहभागी थिए।
प्रकाशित: ८ असार २०७८, मंगलवार