किशोरावस्था, प्रविधि र मानसिक स्वास्थ्यबीच तादात्म्य छैन: अध्ययन

  • Technology Khabar | २१ बैशाख २०७८, मंगलवार
किशोरावस्था, प्रविधि र मानसिक स्वास्थ्यबीच तादात्म्य छैन: अध्ययन

काठमाडौं ।

अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युटले हालै टेलिभिजन हेर्ने, डिप्रेसन महसुस गरेर सामाजिक सञ्जाल र डिभाइस चलाउने, आत्महत्याको प्रवृत्ति तथा व्यवाहारजन्य समस्याको तुलनात्मक अध्ययन गरेको छ।

सन् १९९१ देखि २०१९ सम्मको कालखण्डलाई लिएर गरिएको उक्त अध्ययनमा अक्सफोर्डले डिप्रेसन र सामाजिक सञ्जाल चलाउने साथै टीभी हेर्नै बानीमा केही सम्बन्ध भएको पत्ता लगाएको छ।

यसबीचमा संवेगात्मक समस्या र सामाजिक सञ्जालको प्रयोग केही बढेको पाइएको छ।

‘हामीले सन् २०१० र २०१९ मा सामाजिक सञ्जालको प्रभाव र मानसिक स्वास्थ्यबीच कुनै अन्तर पाएनाैं’, अध्ययनका सहलेखक एण्ड्र्यु प्राइबिल्स्कीले भने, ‘हामी थोरै सङ्ख्यामा रहेका खुशी मानिसहरुले धेरै सामाजिक सञ्जाल चलाउँछन् भनिरहेका छैनाैं। हाम्रो भनाइ यी दुई कुराबीचको सम्बन्ध खासै बलियो पाइएन भन्ने हो।’

अध्ययनको यो निष्कर्षले प्रविधिले युवायुवतीमा गम्भीर मानसिक असर पारिरहेको हुन्छ भन्ने धारणा बोकेका नियामक तथा कानुनविदहरुका लागि चेतावनी सावित भएको छ।

अमेरिका र बेलायतका सहभागीहरुले पहिले नै तयार पारिएका प्रश्नका उत्तरहरुमार्फत् आफ्ना धारणा व्यक्त गरेका थिए। उनीहरुलाई कति समय सामाजिक सञ्जाल र मोबाइल डिभाइस चलाउँछन् भन्ने सोधिएको थियो।

उक्त अध्ययनको प्रतिवेदन क्लिनिकल साइकोलोजिकल साइन्स नामक जर्नलमा छापिएको थियो। सन् २०२१ जनवरीमा गरिएको एक अध्ययनले सामाजिक सञ्जालको अत्यधिक प्रयोगले किशोर किशोरीमा नकारात्मक भावना तथा नकारात्मक स्वाभिमान पैदा गर्न भूमिका खेलने निष्कर्क्ष निकालेको थियो।

हालको अध्ययनमा किशोर किशोरीको मानसिक स्वास्थ्यमा प्रभाव पार्ने अर्को महत्वपूर्ण तत्व कोरोना महामारी भएको पाइएको छ। बेलायत सरकारले मानसिक स्वास्थ्यका क्षेत्रमा ५० करोड पाउण्ड लगानी गर्ने जनाएको छ जसमध्ये लगभग ८ करोड पाउण्ड बालबालिका तथा किशोर किशोरीका लागि छुट्याइएको छ।

प्रकाशित: २१ बैशाख २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...