
काठमाडौं ।
अमेरिकी अटो कम्पनीहरु जनरल मोटर्स (जीएम) कम्पनी र फोर्ड मोटर कम्पनी दुबैले ग्लोबल अटोमोटिभ उद्योगलाई रोकेका सेमिकण्डक्टर (अर्धचालक) चिप अभावले आफ्ना उत्पादनमा कटौती गर्ने बताएका छन्।
अमेरिकी राष्ट्रपतिको कार्यालय व्हाइट हाउसले आउँदो सोमबार चिप अभावको विषयमा सम्मेलन गर्ने योजना बनाएको छ जसमा जीएमकी चीफ एक्जीक्यूटिभ म्यारी बार्रा, फोर्डका प्रमुख कार्यकारी जिम फार्ली र शीर्ष टेक्नोलोजी फर्मका अधिकारीहरू सम्मिलित हुने अपेक्षा गरिएको छ।
अमेरिकाको अटो उद्योग समूहले यस हप्ता सरकारलाई मद्दत गर्न आग्रह गरेको थियो र विश्वव्यापी सेमिकण्डक्टरको अभावले यस वर्ष १२ लाख८० हजार कम सवारी सवारी उत्पादन हुने तथा अर्को ६ महिनाको लागि उत्पादनमा बाधा बनाउने चेतावनी दियो।
राष्ट्रपति जो बाइडेन कम्तिमा ५० अर्ब अमेरिकी डलर चाहान्छन् जसले अमेरिकी सेमिकण्डक्टर उत्पादन बढाउन सहयोग पुर्याउँछ, तर त्यसले छोटो अवधिको आवश्यकतालाई भने सम्बोधन गर्दैन।
सबैभन्दा ठूलो अमेरिकी कार निर्माताले बताएअनुसार उसले आफ्नो स्प्रीङ्ग हिल असेम्बली प्लान्टमा उत्पादनलाई सोमबारदेखि दुई हप्ताको लागि कटौती गर्नेछ जसले लोकप्रिय एसयूभी बनाउँदछ, र मेक्सिकोको रामोस प्लान्ट तथा मिशिगनको लान्सिङ्ग डेल्टा टाउनशिप कारखानामा चेभ्रोले ब्लेजरको उत्पादन एक हप्ता कटौती गर्नेछ।
यस बाहेक जीएमले अन्य असेम्बली प्लान्टहरुमा समेत उत्पादन विभिन्न अवधिहरुसम्म बन्द गर्ने छ।
अर्को कम्पनी फोर्डले पनि अमेरिकामा रहेका विभिन्न प्लान्टहरुलाई रोक्नेछ भने ओहियोमा रहेको असेम्बली प्लान्टमा पुन तालिकीकरण गर्नेछ ।
यसअघि नै विश्वका अन्य अटोमेकर कम्पनीहरुले चिप अभावका कारण आफ्ना प्लान्टहरुमा काम रोकेका छन भने कतिपयले बन्द नै गरेका छन् । कोरोना भाइरस महामारीका कारण विश्वभर पर्याप्त मात्रामा सेमिकण्डक्टर चिप उत्पादन हुन नसक्दा अटो उद्योगका साथै स्मार्टफोन लगायत इलेक्ट्रोनिक्स सामाग्री उत्पादन र मूल्यमा असर परेको छ । एजेन्सी
प्रकाशित: २८ चैत्र २०७७, शनिबार