
काठमाडौं ।
सफ्ट्वेरिका कलेज डिल्लीबजारमा भोलि फागुन २८ गते शुक्रबारदेखि दोस्रो आईओटी एक्स्पो आयोजना हुँदैछ।
फागुन २८ गतेदेखि चैत २ गतेसम्म चार दिन चल्ने उक्त एक्स्पोमा कलेजकै विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुले बनाएका मेशिन, रोबोट, सवारी साधनलगायतका विभिन्न प्रविधिजन्य सामग्रीहरु प्रदर्शन गरिनेछ।
प्रस्तुत छ यसै सम्बन्धमा कलेजको समग्र शैक्षिक रणनीति हेर्ने जिम्मेवारी पाएका र एक्स्पोका प्राविधिक संयोजक (टेक्निकल कोअर्डिनेटर) मनोज श्रेष्ठसँग गरिएको कुराकानी:
तपाईँहरुले शुक्रबारदेखि गर्न लागेको आईओटी एक्स्पो के हो?
आईओटी (इन्टरनेट अफ थिङ्स) भन्नाले अहिले सर्वाधिक चर्चा र प्रयोगमा रहेको एआई अर्थात आर्टिफिसियल इन्टेलिजेन्सको सानो अंश (सब-सेट) हो।
यो एक्स्पो वेबसाइट र एप बनाउनेभन्दा माथि उठ्दै विद्यार्थीहरुलाई हार्डवयर र सफ्टवेयर दुवै इन्टिग्रेट गर्न लगाएर उनीहरुले गरेको कामको व्यवहारिक प्रभाव पनि परोस् भन्ने हिसाबले ती सबै कामहरुलाई एकै थलोमा देखाउनका लागि गरिएको हो।
यसो हुँदा बाहिरबाट प्रदर्शनी हेर्न आउने प्रोफेसनलहरुले सम्बन्धित विद्यार्थीलाई उसको कामका आधारमा चिनुन् र उनीहरुले ती बिद्यार्थीको कामलाई सराहना गरुन् भन्ने अपेक्षा गरिएको छ।
यसमार्फत आएका प्रशंसा र सुझावले विद्यार्थीलाई भविष्यमा अझ राम्रो गर्न सकारात्मक हाैसला मिल्छ र बाहिरका विश्वविद्यालयहरुमा पनि आफ्ना अनुसन्धानहरुलाई देखाउने अवसर पनि जुट्न सक्छ।
प्रदर्शनीमा के के गतिविधि हुन्छन्? प्रदर्शनीको मुख्य आकर्षण के हो?
यो प्रदर्शनीको मुख्य आकर्षण अटोनोमस भेहिकल (स्वायत्त वा स्वचालित सवारी साधन) हो। यी भेहिकल हामीले स्क्र्याचबाट नै बनाएका हाैं। यिनीहरुमा प्रयोग भएका फ्रेम र डिजाइनदेखि सबै यहीँका विद्यार्थीहरुले बनाएका हुन्। बाहिर बनाउन दिएको भेहिकल सन्तुष्टिजनक नबनेपछि सबै कलेजमै बनाइएको हो।
यस्ता भेहिकल आजकै दिनमा व्यवहारिक रुपमा प्रयोगमा ल्याउन नसकिए पनि बनाउन सम्भव छ र नेपालकै कलेजमा पढेका विद्यार्थीले बनाउन सक्छन् भन्ने बुझाउन यसलाई मुख्य आकर्षणका रुपमा राखिएको हो।
यसका साथै मेशिन लर्निङ, आर्टिफिसियल इन्टेलिजेन्सयुक्त (एआई इनेबल्ड) ड्रोन, पियानो बजाउने रोबोटिक हात (जसले कुनै पनि गीतको लयमा पियानो बजाइदिन्छ) जस्ता मेशिनहरु पनि रहनेछन्। यस बाहेक स्मार्ट टेक्नोलोजीसम्बन्धी प्रोजेक्टहरु जस्तै सिधै भुक्तानी गर्न मिल्ने भेण्डिङ मेशिन, स्मार्ट व्हीलचेयर, स्मार्ट डेलिभरी स्कुटर, स्मार्ट बगैँचा, सर्च एण्ड रेस्क्यु ड्रोन, स्मार्ट फोहर व्यवस्थापन योजना आदि पनि एक्स्पोमा राखिनेछन्।
समग्रमा हार्डवयरसम्बन्धी प्रदर्शनी भए पनि त्यो हार्डवयरलाई चलायमान बनाउन आत्माको रुपमा सफ्टवेयरहरु रहने भएकाले कोडिङ गरिएका सफ्टवेयरहरु पछि ठूलो मात्रामा यस्ता मेशिनहरु बनाउँदा ट्रान्सफर गर्न सकियोस् भन्ने हिसाबले प्रदर्शनीको आयोजना गरिएको हो।

एक्स्पोको उद्देश्य के हो?
यो मार्केटिङ वा प्रदर्शनीकै लागि मात्र गर्न लागिएको प्रदर्शनी होइन। यसको उद्देश्य विद्यार्थीहरु कुनै पनि काममा कत्तिको लागि पर्न र खटिन सक्छन् भन्ने परीक्षण गर्नु पनि हो।
यस्ता प्रदर्शनीका लागि आफ्ना सिर्जनाहरु बनाउँदा आइपर्ने समस्या र चुनाैतीहरु तथा तिनीहरुलाई हल गर्न गरिएका विभिन्न प्रयासले विद्यार्थीहरु पढाइ सकेर वास्तविक भोगाइमा जाँदा उनीहरुमा म केही गर्न सक्छु र त्यसका लागि म यतिसम्म खट्न सक्छु भन्ने आत्मविश्वास जगाउनु पनि हो।
त्यसबाहेक विद्यार्थीहरुलाई काम गर्दा विभिन्न समस्या आइपर्छन्, ती सबैलाई मिलाएर अघि बढ्न सके वास्तविक जीवनका चुनाैतीहरुलाई पार गर्न सकिन्छ भन्ने सिकाउनु पनि हो ।
विद्यार्थीहरुले कक्षाकोठाका सैद्धान्तिक ज्ञानमात्र नभइ यस्ता प्राविधिक कुराहरु बनाउँदा आवश्यक कच्चा पदार्थ पाइँदैनन् र तिनीहरुको सट्टामा अरु विकल्प के हुन सक्छन् ती विकल्पहरुलाई कसरी आफ्नो प्रोजेक्टमा मिलाएर काम सम्पन्न गरेर लैजान सकिन्छ भन्ने कुरा व्यवहारिक रुपमै सिकुन् भन्ने पनि हाम्रो उद्देश्य हो।
यो प्रदर्शनीले के फाइदा पुर्याउँछ?
यो प्रदर्शनीले सोझै समाज वा देशलाई केही दिन्छ भन्नु भन्दा पनि यसको मुख्य उद्देश्य प्रत्येक विद्यार्थीको व्यक्तिगत तहमा गएर उनीहरुलाई केही नयाँ गर्न प्रोत्साहित गर्नु हो।
यसो गर्दा प्रत्येक विद्यार्थीले कुनै नयाँ काम गर्दा समस्या आउँछन्, तिनलाई समाधान गरेर अगाडि बढ्नुपर्छ, यतिसम्म खटिन सक्यो भने अरुको भन्दा केही नयाँ काम गर्न सकिन्छ भन्ने व्यवहारिक रुपमा बुझुन् भन्ने हाम्रो मनशाय हो।
यसरी प्रत्येक विद्यार्थी व्यक्तिगत रुपमा आफैंमा सक्षम भएर निस्किए भने पढाइ सकेर उनीहरु फर्कने भनेको समाजमै हो।
सफ्ट्वेरिकाबाट बर्सेनि ५०० जति विद्यार्थी स्नातक तह पार गरेर जान्छन् । यस्तोमा तिनीहरु सबै व्यक्तिगत तहमा राम्रा र माझिएका छन् भने उनीहरुले सम्बन्धित क्षेत्रमा काम पाउने अरुसँग प्रतिस्पर्धा गर्न सक्ने र परेको बेला नयाँ तरिकाले समस्याको समाधान गर्न सके भने त्यसको प्रत्यक्ष फाइदा समाजलाई नै हुन्छ।
समाज लाभान्वित भएपछि समग्रमा त्यो लाभ देशकै हितका लागि हुन्छ। यसरी हेर्दा हामीले प्रत्येक विद्यार्थीलाई व्यक्तिगत तहमा निखार्न खोज्छाैं र त्यो निखार व्यक्ति, परिवार, समाज हुँदै अन्त्यमा देश र विदेशसम्म पनि फेलिन्छ।
एक्स्पोका लक्षित दर्शक/अवलोकनकर्ता को हुन्छन्?
यसमा मुख्य लक्षित वर्ग भनेको दुई प्रकारका छन्। पहिलो विद्यार्थीहरुका लागि सम्बन्धित काम उपलब्ध गराउनसक्ने रोजगारदाताहरु र अर्को प्लस २ सकेर के पढ्दा ठिक होला भनेर बसका विद्यार्थीहरु हुन्।
यस्ता रोजगारदाताले एक्स्पो हेरिसकेपछि प्रभावित भएर र सम्भावना देखेर हाम्रा विद्यार्थीहरुलाई रोजगार वा प्रशिक्षार्थीका रुपमा काम गर्ने र आफूलाई प्रमाणित गर्ने मैका दिउन् भन्ने मनशायले उनीहरुलाई मुख्यरुपमा लक्षित गरिएको हो।
सुरुमा एनसीसी एजुकेशनको व्यवस्थापन र युक्लान्स युनिभर्सिटी अफ सेन्ट्रल ल्यांकाशायरको सम्बन्धनमा चलेको सफ्टवेरिका कलेजले धेरै वर्षको प्रयासपछि कोभेन्ट्रीको अनुमोदन पाएको हो।
कोभेन्ट्री युनिभर्सिटीको गुणस्तर र नीति नियमभित्र रहेर बजारको आवश्यकता अनुसार पाठ्यक्रममा सामग्रीहरु थपघट गर्न सक्ने अधिकार प्राप्त भएकाले सफ्टवेरिका आफूलाई कोभेन्ट्री युनिभर्सिटीको सम्बन्धन प्राप्त संस्था भन्नु भन्दा पनि कोभेन्ट्री युनिभर्सिटी अन्तर्गतको स्वायत्त संस्थाको रुपमा चिनाउँन चाहन्छ।
कलेजले पाठ्यक्रममा सामग्रीहरु थपघट गर्ने क्रममा तत्काल अटोनोमस भेहिकललाई पाठ्यक्रममै समेट्दैछ। त्यसबाहेक (एआर, भीआर) अग्मेन्टेड रियालिटी तथा भर्चुअल रियालिटी पनि पाठ्यक्रममा थपिँदै छन्। यसअघि ड्रोनका रुपमा चिनिने यूएभी (अन्म्यान्ड एरियल भेहिकल) पनि पाठ्यक्रममा थपेर पढाइ भइरहेको छ।
प्रकाशित: २८ फाल्गुन २०७७, शुक्रबार