
काठमाडौं ।
ह्वावेका संस्थापक रेन झेनफेनले अमेरिकी टेक्नोलोजीको प्रशंसा गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको राष्ट्रपतिको पदभार सम्हालेसँगै संस्थापक रेनले सार्वजनिकरुपमा अमेरिकी टेक्नोलोजीको प्रशंसा गरेका हुन्।
‘अमेरिकीको टेक्नोलोजी विश्वकै उत्कृष्ट टेक्नोलोजी हो। अमेरिकी प्रतिबन्धका करण चिनियाँ ह्वावे टेक्नोलोजीले आफ्नो उत्पादन कटौती गर्नु परेको छ’, ह्वावेका संस्थापक रेनले भने ।
सन् २०१९ मा जुनमा स्टाफलाई लेखिएको रेनको सन्देश पहिलो पटक सार्वजनिक गरिएको हो । ह्वावे बाइडेन प्रशासन अन्तर्गत आफ्नो सम्भावनाहरुको बारेमा धेरै समयसम्म मौन थियो।
ह्वावेको उपकरणहरु अमेरिकी सुरक्षाका लागि जोखिम पूर्ण रहेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वावे माथि विभिन्न चरणमा प्रतिबन्ध लगाएका थिए । ह्वावेले यो आरोप अस्वीकार गर्दै आईरहेको छ।
रेनको पत्रमा अमेरिकाको प्रतिबन्धका कारण भनिएको छ, ‘हाम्रो रणनीति र क्षमताबीच एक ठूलो बेमेल छ । कम्पनीले आफ्नो केहि उत्पादनलाई कटौती गर्नु परेको छ । साथै अनुत्पादक कर्मचारीलाई पनि कटौती गर्ने बारेमा कम्पनी बिचार गरिरहेको छ।’
यो पत्र ह्वावेको पूर्व सबब्रान्ड अनरले नयाँ आपूर्तिका लागि इन्टेल र क्वालकमसँग साझेदारी गरेसँगै सार्वजनिक गरिएको हो । ह्वावे माथिको प्रतिबन्धका कारण अनरले पनि अमेरिकामा आफ्नो व्यापार गुमाउन पुगेको थियो । ह्वावेले सन् २०२० नोभेम्बरमा अनरको सेयर बिक्री गरेको थियो ।
रेनको पत्रमा भनिएको छ, ‘कम्पनीले आगामी ३ देखि ५ वर्षसम्म आफ्नो तलब संरचनालाई परिवर्तन गर्ने छैन । सयौं वरिष्ठ कर्मचारीले स्वेच्छाले अवकाश लिए।’
उक्त पत्रमा बाइडेन प्रशासनको बारेमा उल्लेख गरिएको छैन । तर विश्लेषकहरुले भनेका छन् कि कम्पनी आफ्नो अब्बल फोन र फाइभजी पूर्वाधार व्यवसायलाई अमेरिकाको राजधानी वासिंगटन डीसीमा पुनर्जीवित गर्न चाहिरहेको छ।
‘अमेरिका अझै पनि विश्व प्रविधिको जग हो । हामीले उन्नत व्यक्तिबाट प्रविधि विकास गर्न अझै धेरै सिक्न बाँकी छ’, रेनले भने । एजेन्सी
प्रकाशित: ११ माघ २०७७, आईतवार