क्रिप्टो चोर्न र आईफोन प्रयोगकर्तालाई निशाना बनाउन लोकप्रिय वेबसाइटहरूमा दुर्भावनापूर्ण कोड राखिएको दाबी
काठमाडौं ।
जुम, एचएसबीसी, इक्विफ्याक्स, सीएनएन, सेल्सफोर्स र आइकियासहित विश्वका धेरै प्रयोगकर्ताले हेर्ने लोकप्रिय वेबसाइटहरूमा क्रिप्टोकरेन्सी चोर्न र आईफोनमा हानिकारक प्रोग्राम राख्ने उद्देश्यले छेडछाड गरिएको एक सुरक्षा अनुसन्धानकर्ताले सोमबार बताएका छन्।
अनुसन्धानकर्ता स्कट हेल्मेका अनुसार वेबसाइट अप्टिमाइजेसन प्लेटफर्म अप्टिमाइजेलीमार्फत विभिन्न क्षेत्रका १७८ संस्थाका वेबसाइटमा आउने प्रयोगकर्तालाई लक्षित गरी हानिकारक जाभास्क्रिप्ट राखिएको थियो।
ती स्क्रिप्टले क्रिप्टोकरेन्सी भुक्तानीका लागि प्रयोग हुने ठेगानालाई आक्रमणकारीको डिजिटल वालेटको ठेगानाले प्रतिस्थापन गर्ने, प्रयोगकर्ताले क्रेडिट कार्डको विवरण भर्दा कार्ड नम्बर चोर्ने, कुकी र स्क्रिनसट संकलन गर्ने तथा आईओएस उपकरणमा आक्रमण गर्न प्रयोग हुने कोड राख्ने प्रयास गरेका थिए।
साइबर सुरक्षा कम्पनी हडसनरकले पनि ती वेबसाइटमार्फत प्रयोगकर्तालाई हानिकारक कोड पठाइएको प्रमाण फेला पारेको जनाएको छ।
यद्यपि, प्रत्येक घटनामा उक्त कोड सफलतापूर्वक प्रयोग भएको थियो कि थिएन वा त्यसबाट कति क्षति भयो भन्ने तत्काल पुष्टि गर्न नसकेको रोयटर्सले उल्लेख गरेको छ।
सेल्सफोर्सले अप्टिमाइजेलीका स्क्रिप्टमा अनधिकृत परिवर्तन भएको विषयमा अनुसन्धान गरिरहेको र सावधानीस्वरूप ती स्क्रिप्ट निष्क्रिय पारेको जनाएको छ।
अप्टिमाइजेली, एप्पल, जुम, एचएसबीसी, इक्विफ्याक्स, सीएनएन र आइकियाले टिप्पणीका लागि गरिएको अनुरोधमा तत्काल प्रतिक्रिया दिएनन्।