Technology Khabar २२ मंसिर २०७७, सोमबार
काठमाडौं ।
भारतमा दूरसञ्चार कम्पनीहरूको संघ (सीओएआई) ले टेलिकम्युनिकेसन विभागलाई पत्र पठाएर ५जी ट्रायल चाँडै सुरु गर्न माग गरेको छ।
सीओएआईका अनुसार उनीहरूले जनवरीमा ५जी परीक्षणको लागि आवेदन दिएका थिए तर अहिलेसम्म सरकारबाट कुनै स्वीकृति प्राप्त भएको छैन। टेलिकम कम्पनीहरूले अब ५जी स्पेक्ट्रमको परीक्षणको ढिलाइबारे प्रश्न उठाइरहेको भारतीय मिडिया रिपोर्टहरुमा उल्लेख छ।
टेलिकम कम्पनीहरूका अनुसार सरकारले २०१९ मा ५जी सेवाहरूको परीक्षणका लागि समिति गठन गरेर काम गर्न सुरु गर्यो। तर अहिलेसम्म, ५जी परीक्षणहरूको लागि स्पेक्ट्रम छुट्याईएको छैन।
अब सीओएआईले दूरसञ्चार विभागलाई पत्र लेखेर ५जी परीक्षण चाँडै सुरु गर्न माग गर्नुका साथै आफ्ना केही मागहरू पनि राखेको छ।
यी कम्पनीहरूकाअनुसार कम्तिमा १ वर्षको समय ५जी स्पेक्ट्रम ट्रायलको लागि दिइनु पर्दछ। कुनै पनि स्थानमा ट्रायलको लागि अनुमति हुनुपर्दछ। सरकारले ट्रायलका लागि नोडल अफिसर नियुक्त गर्नुपर्नेछ र एकल विन्डो क्लीयरन्स कम्पनीहरूलाई दिइनु पर्ने माग छ।
यसका साथै कम्पनीहरूले आवश्यकता अनुसार उपकरणको स्थान परिवर्तन गर्न सक्ने हुनुपर्नेछ। प्रयोगशाला परीक्षणहरूको लागि कुनै विक्रेताको चयनको लागि अनुमोदन हुनुपर्नेछ भने मेक इन इण्डिया सलुसन लागू गर्न अलग स्वीकृति आवश्यक नपर्ने र बाहिरबाट आयात भएका उपकरणहरूमा परीक्षणका लागि आयात शुल्क लगाइन नहुने मागसमेत राखेका छन्।
वास्तवमा भारतीय सरकारले अझै चिनियाँ कम्पनीहरूलाई फाइभजी परीक्षणबाट बाहिर राख्ने निर्णय लिइसकेको छैन्। जसले गर्दा ५जी परीक्षणहरू अझै सुरू हुन नसकेको बताईएको छ।
दूरसञ्चार विभागले ५जी सेवाहरूको रोडम्याप तयार गर्न ८ वटा कार्य समूह गठन गरेको छ, यी कार्य समूहहरूले यसै महिना सरकारमा प्रतिवेदन बुझाउन सक्दछन्। चिनियाँ कम्पनीहरू पनि यी कार्य समूहमा सामेल भएका छन्।
धेरै देशहरूमा ५जी सेवाहरू सुरू भईसकेका छन् तर भारतले अहिलेसम्म यसको परीक्षणको निर्णय गरेको छैन, यस्तो अवस्थामा भारतीय ग्राहकले ५जी सेवाहरूको लागि लामो समय कुर्नुपर्ने हुन सक्छ।
प्रकाशित: २२ मंसिर २०७७, सोमबार