
काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राति भिडियो शेयरिङ्ग एप टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।
उनले आफ्नो कार्यकारी अधिकार प्रयोग गरेर टिकटकलाई प्रतिबन्ध लगाउने बताएका हुन् ।
‘जहाँसम्म टिकटकको कुरा छ, हामी त्यसलाई अमेरिकामा प्रतिबन्ध गर्दैछौँ,’ एयरफोर्स वानमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने ।
यसका लागि उनले आपतकालिन आर्थिक शक्ति वा कार्यकारी आदेश प्रयोग गर्ने जिकिर गरे । उनले यस्तो आदेश शनिवार नै जारी गर्नसक्ने बताएका छन् ।
यसअघि ट्रम्प प्रशासनका अधिकारीहरुले टिकटकको मालिक रहेको चिनियाँ कम्पनी बाइटडान्सलाई अमेरिकाको सञ्चालन र व्यवस्थापनको जिम्मा अमेरिकी कम्पनीलाई बेच्नुपर्ने आदेशमा ट्रम्पले हस्ताक्षर गर्न सक्ने अपेक्षा गरेका थिए ।
अमेरिकी सुरक्षा एजेन्सीहरुले चिनियाँ कम्पनीको स्वामित्वमा रहेको सो एप जोखिमयुक्त भएको बताउँदै आएका छन् । नीति निर्माताहरुले टिकटकलाई राष्ट्रि सुरक्षाका लागि जोखिम हुनसक्ने भन्दै प्रतिबन्ध लगाउने बारेमा कुरा उठाउँदै आएका छन् ।
अमेरिकी सरकारले टिकटकको राष्ट्रिय सुरक्षाबारे मुल्यांकन गरिरहेको छ । यसबारे नीतिगत सुझावहरु राष्ट्रपति ट्रम्पलाई प्रदान गर्ने तयारी गरिरहेको छ ।
अमेरिकी अधिकारीहरुले टिकटकले संकलन गर्ने डाटा अमेरिका बाहिर रहेको र त्यहाँबाट चिनियाँ अधिकारीहरुले टिकटकको गोप्य जानकारी लिने गरेको आरोप लगाउँदै आएका छन् ।
टिकटकले भने सो आरोप निराधार भएको र हालसम्म चिनियाँ सरकारले कुनै डाटा नमागेको र कुनै डाटा नदिएको पटक पटक बताउँदै आएका छन् ।
टिकटकका अमेरिकामा मात्र ८ करोड प्रयोगकर्ताहरु छन् । यदि प्रतिबन्ध लागेमा त्यो टिकटकका लाई सबैभन्दा कठिन हुनेछ ।
यसअघि न्युयोर्क टाइम्सले अमेरिकी कम्पनी माईक्रोसफ्टले टिकटकको अमेरिकी व्यवसाय खरिद गर्ने बारेमा कुराकानी भईरहेको लेखेको थियो । तर अमेरिकी राष्ट्रपतिले भने सो खरिद डिल प्रति शंका व्यक्त गर्दै प्रतिबन्ध लगाउने बताएका हुन् ।
भारतले यसअघि चीनसँगको सिमा झडपपछि टिकटकसहित करिब १०० चिनियाँ एप्समा प्रतिबन्ध लगाएको थियो । एजेन्सी
प्रकाशित: १७ श्रावण २०७७, शनिबार