
काठमाडौं ।
सरकारले कोरोना भाइरसको संक्रमणबाट जोगिन आह्वान गरेको लकडाउनका कारण नेपालमा इन्टरनेटको खपत ३३ प्रतिशत बढेको छ ।
प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले मंगलवार आयोजना गरेको डिजिटल सम्मेलनमा उक्त आँकडा प्रस्तुत गरिएको हो ।
नेपाल नेटवर्क सेवाप्रदायक समूहका अध्यक्ष समीत जन थिङले मुलुकभित्रको इन्टरनेट खपत ३५ प्रतिशत र बाह्य खपत २५ प्रतिशत बढेको बताए । उनले लकडाउन सुरु हुनुअघि १,४८६ गिगाबाइट प्रतिसेकेण्ड खपत हुँदै आएको इन्टरनेट लकडाउनपछि १,९७१ गिगाबाइट प्रतिसेकेण्ड पुगेको जानकारी दिए ।
इन्टरनेट सेवा प्रदायकहरुले आफैं गर्ने खपतसमेत जोड्दा २,१०० गिगाबाइट प्रतिसेकेण्ड खपत हुने गरेको थिङले जानकारी दिए ।
उनले सामान्य अवस्थामा हरेक वर्ष औसत २३ प्रतिशतको बृद्धि हुने इन्टरनेट बजारमा लकडाउनले छोटो समयमै उच्च बृद्धि हासिल गर्न सघाउ पुर्याएको बताए । लकडाउनले नेटफ्लिक्समा सिनेमा हेर्ने र घरमै बसेर टिकटक चलाउनेको संख्या बढेको उनले जानकारी दिए ।
लुडोजस्ता मोबाइल गेमिङमा पनि इन्टरनेटको खपत दोब्बर बढेको उनले जानकारी दिए । यसबीच गूगल, फेसबुक र अमेजनमा पनि इन्टरनेटको प्रयोग उच्च दरले बढेको तथ्यांक छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजय कुमार रोयले पनि लकडाउनअघिका १० दिनको तुलनामा लकडाउनपछिका १० दिनमै इन्टरनेटको प्रयोग ३६ प्रतिशतसम्म बढेको जानकारी दिए ।
उनले अन्तर्राष्ट्रिय ब्याण्डवीथ खपत पनि १० प्रतिशत हाराहारीमा बढेको जानकारी दिए । लकडाउनले इन्टरनेटको मागमा पनि स्थिरता ल्याएको रोयले बताए ।
‘पहिले दिनभरीमा कुनै समय अत्यधिक माग आउने र कुनै समय माग निकै घट्ने गरेको थियो । तर अहिले त्यस्तो उतार चढाव देखिएको छैन’, उनले भने, ‘तर साँझ ८-१० बजेको समयमा अहिले पनि इन्टरनेटको खपत उच्च विन्दुमा पुग्छ ।’
प्रकाशित: २३ असार २०७७, मंगलवार