
काठमाडौं ।
सामसङ इलेक्ट्रोनिक्स कम्पनी लिमिटेडले दोस्रो त्रैमासमा आफ्नो संचालन मुनाफामा २३ प्रतिशतले वृद्धि भएको बताएको छ।
कोरोनाभाइरस महामारीको समयमा वर्क फ्रम होमको गतिबिधिमा वृद्धि भएसँगै कम्पनीले काम गर्ने डाटा केन्द्रहरूलाई आवश्यक पर्ने चिप बिक्रीको विश्लेषकहरुको अनुमानलाई उछिनेसँगै नाफा बढाउन सफल भएको हो ।
‘स्मार्टफोन र टेलिभिजनको कमजोर मागले गर्दा बिक्रीलाई निरास पारेको छ, जबकि ग्राहकको रूपमा एप्पल इंकलाई पाएसँगै यसको डिस्प्ले व्यवसायबाट एकपटक लाभ प्राप्त भएको छ र त्यसले नाफा पनि बढायो,’ कम्पनीले भनेको छ। तर सो बारेमा कुनै थप विवरण कम्पनीले सार्वजनिक गरेको छैन् ।
विश्वको शीर्ष मेमोरी चिप र स्मार्टफोन निर्माता कम्पनीले अपरेटिङ्ग नाफा ८.१ ट्रिलियन कोरियन वोन (६.८ अर्ब डलर) गएको जूनमा समाप्त भएको त्रैमासमा प्राप्त गरेको बताएको छ। विश्लेषकहरुले भने यसअघि ६.४ ट्रिलियन कोरियन वोन मात्र नाफा हुने बताएका थिए ।
कम्पनीका लागि २०१८ को चौथो क्वाटरपछि यो अहिलेसम्मकै सबैभन्दा उच्च त्रैमासिक लाभ हुनेछ।
कम्पनीको आम्दानी सम्भवतः एक बर्षको तुलनामा ७ प्रतिशतले गिरावट हुँदै ५२ ट्रिलियन कोरियन वोन भएको छ ।
कम्पनीले यो महिनाको अन्त्यमा नियामक निकायमा बिस्तृत जानकारी पेश गर्ने अनुमान गरिएको छ। एजेन्सी
प्रकाशित: २३ असार २०७७, मंगलवार