
काठमाडौं ।
माइक्रोसफ्टले आफ्नो नयाँ डिभाइसहरु लन्च गरेको छ । कम्पनीले डुअल स्क्रीन डिभाइसबाट आफ्नो ध्यान हटाएको घोषणा गरेको केहि दिनमा नै कम्पनीले आफ्नो नयाँ डिभाइसहरु सार्वजनिक गरेको हो ।
नयाँ प्रडक्टमा सर्फेस बुक, सर्फेस गोको नयाँ भर्सन लन्च गरिएको छ भने यसका साथमा हेडफोनहरु सार्वजनिक गरेको छ ।
कम्पनीले ल्याएको सर्फेस बुक ३ ल्यापटपमा नयाँ १० औं पुस्ताको इन्टेल सिपियू राखेको छ भने यसमा १३.५ र १५ इन्चको स्क्रीन उपलब्ध रहेको छ ।
यो ल्यापटपमा कम्पनीकाअनुसार १७.५ घण्टाको ब्याट्री लाईफ रहेको छ भने सर्फेस बुक २ भन्दा ५० प्रतिशत उत्कृष्ट कार्यक्षमता रहेको छ ।
ल्यापटपमा ३२ जीबीको र्याम राखिएको छ भने अहिलेसम्मकै सबैभन्दा तिब्रगतिको एसएसडी स्टोरेज रहेको छ । जसले २ टिबीसम्म बिस्तार गर्न सकिन्छ ।
कम्पनीले सर्फेस बुक ३ डेभलपर्स, डिजाइनर्सका साथै गेमिङ्गका लागि उपयुक्त हुने जानकारी दिएको छ ।
यसको बजार मूल्य १,५९९ अमेरिकी डलरदेखि शुरु हुनेछ भने यो मे २१ देखि बजारमा उपलब्ध हुनेछ ।
माइक्रोसफ्टले ल्याएको सर्फेस गो २ ट्याबलेट पातलो हलुका डिजाइनका साथमा रहेको छ । यो १०.५ इन्चको डिस्प्लेमा उपलब्ध छ भने यसमा ८औं पुस्ताको इन्टेल कोर एम अप्सन पहिला पटक राखिएको छ ।
ट्याबलेटमा स्टूडियो माईक, ड्यूल माइक्रोफोन सलुसन, ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । तयसैगरि यसमा सर्फेस पेन प्रयोग गर्न सकिन्छ ।
सर्फेस गो २ को मूल्य ३९९ अमेरिकी डलरदेखि शुरु हुनेछ ।
यसबाहेक कम्पनीले सर्फेस हेडफोन २ पनि सार्वजनिक गरेकोछ । जसमा न्वाइज कन्ट्रोल, २० घण्टासम्म सुन्ने ब्याट्री क्यापासिटीलगायतका फीचर छन् । नयाँ भर्सनको हेडफोनमा ब्लूटूथ ५.० भर्सन राखिएको छ ।

माइक्रोसफ्टले ल्याएको सर्फेस ईयरबड्स अर्को ग्याजेट हो । यो ट्रू वायरलेस छ भने यसमा टच कन्ट्रोल फीचर रहेको छ । एक दिनको ब्याट्री ब्याकअप रहेको यसमा वायरलेस चार्जिंग केस समेत आउँछ । सर्फेस ईयरबर्डको मूल्य १९९ अमेरिकी डलर तोकिएको छ ।
प्रकाशित: २५ बैशाख २०७७, बिहीबार