Technology Khabar ३ बैशाख २०७७, बुधबार
काठमाडौं ।
नेपाल दूरसंचार प्राधिकरणले जारी गरेको नयाँ इन्टरकनेक्सन गाइडलाइन हाल लागू नहुने भएको छ ।
गएको चैत १९ गतेदेखि नै लागू हुनुपर्ने इन्टरकनेक्सनको नयाँ गाइडलाइन कोरोनाभाइरसको महामारी रोक्न देशभर लकडाउन भएसँगै अलपत्रमा परेको हो ।
प्राधिकरणले नयाँ गाइडलाइन लागू गराउन यसअघि सबै दूरसंचार सेवा प्रदायकहरुलाई पत्र पठाएर अप्रिल १ तारिख अर्थात चैत १९ गतेदेखि लागू हुने जानकारी गराएको भएपनि अहिले तत्काल लागू नहुने भएको हो ।
सोहि समयमा सेवा प्रदायक कम्पनीहरुले भने सो नयाँ गाइडलाइन हाल लागू गर्न नसकिने भन्दै समय सार्न माग गर्दै आएका थिए । उनीहरुले नयाँ गाइडलाइनले करिब ११ देखि १६ अर्ब रुपैयाँसम्म रकम गुम्ने भन्दै नयाँ गाइडलाइनको विरोध गर्दै आएका थिए ।
नयाँ गाइडलाइन लागू भएसँगै सेवाग्राहीले भने सस्तो मूल्यमा दूरसंचार सेवा सुबिधा प्राप्त गर्ने थिए ।
प्राधिकरणले चैत १९ गतेदेखि नै लगाउनुपर्ने इन्टरकनेक्सन गाइडलाइनको बारेमा हाल केहि विचार नगरिएको जानकारी दिएको छ ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले लकडाउनले गर्दा हाल अत्यावश्यक कार्यमा बाहेक अन्य विषयहरुमा ध्यान दिन नसकिएको बताए ।
‘इन्टरकनेक्सन गाइडलाइन लागू गर्ने पहिलेदेखिकै तयारी थियो तर लकडाउनले गर्दा के गर्ने भन्नेमा ध्यान दिन पाएको छैन् । समय थप गर्ने वा अन्य विकल्पहरु बारेमा छलफल गरेर निर्णय गर्नुपर्नेछ,’ अध्यक्ष खनालले भने ।
नयाँ गाइडलाइन लागू गराउन प्राधिकरणले दूरसंचार सेवा प्रदायकहरुलाई तोकिएको समय भन्दा ३ महिना अगाडि नै जानकारी गराएर तयारी गर्न निर्देशन दिएको थियो । तर नेपाल दूरसंचार कम्पनी लिमिटेड र एनसेल प्रालि दुबैले लागू गर्न आनाकानी गर्दै आएका छन् ।
एनसेलले सोहि बेला पत्र नै पठाएर समय थप गर्न माग गरेको थियो भने नेपाल टेलिकमले संचार तथा सूचना प्रविधि मन्त्रालय मार्फत नै रोक्नका लागि लबिङ्ग गरिरहेको थियो ।
उनीहरुले गाइडलाइन लागू गरेपनि अन्तराष्ट्रिय कलको शुल्कमा नेपाली कम्पनीले सहुलियत नपाउने भन्दै अनौपचारिकरुपमा पनि लागू नगराउन दबाब दिँदै आएका छन् ।
लकडाउनले गर्दा दूरसंचार कम्पनीहरुको माग अनुसार नै सम्बोधन हुनसक्ने देखिएको छ ।
अहिले लकडाउनको अवस्थाले गर्दा प्राधिकरणले पनि नयाँ इन्टरकनेक्सन गाइडलाइन लागू गराउने समय थप गर्नसकिने संभावना बारे हेरिरहेको छ ।
‘इन्टरकनेक्सन गाइडलाइन अहिलेको अवस्थामा लागू गर्न नसकिने देखिएको छ । त्यसलाई लागू गराउन केहि समय थप दिनुपर्ने हो की भन्नेछ । लकडाउन खुलेपछि मात्रै छलफल गर्न सकिएला,’ प्राधिकरणका निर्देशक अम्बर स्थापितले भने ।
गाइडलाइन लागूभएपछि अन्तराष्ट्रिय र राष्ट्रिय फोन कलको शुल्क घट्ने अपेक्षा गरिएको छ । जसले अन्तत नेपाली ग्राहकहरुलाई नै फाईदा हुनेछ ।
*हेडलाइन सम्पादित
यो पनि हेर्नुस्-
इन्टरकनेक्सन शुल्क घटाउन आनाकानी गर्दै टेलिकम अपरेटरहरु, समयाबधि थप गराउन लबिङ्ग गर्दै
प्रकाशित: ३ बैशाख २०७७, बुधबार