
काठमाडौं ।
विश्वभर नोवल कोरोनाभाइरसको प्रकोप र त्रास बढेसँगै नेपालमा पनि सो सम्बन्धि सतर्कता र जनचेतना बढिरहेको छ । सरकारले कोरोनाभाइरस रोक्ने हरसंभव प्रयास गरिरहेकोमा हरेक नेपालीहरुलेआफ्नो सुरक्षाको लागि सर्तकता अपनाउँदै गएका छन् ।
यहि सन्दर्भमा टेलिकम कम्पनीहरुले पनि आफ्नो कार्यालयलाई उच्च सतर्कतासाथ सरसफाई र सुरक्षामा ध्यान दिन थालेका छन् । सोहि अनुसार सरकारी स्वामित्वको नेपाल दूरसंचार कम्पनी(नेपाल टेलिकम)ले पनि कार्यालयमा कोरोनाभाइरसको बारेमा सतर्कता अपनाउन कर्मचारीहरुलाई सूचित गरेको छ ।
टेलिकम व्यवस्थापनसहित कर्मचारी संघ संगठनहरुले पनि सो बारेमा ध्यान दिन व्यवस्थापनलाई दबाब दिँदै आएका छन् ।
टेलिकमले कोरोनाभाइरसको त्रास बढेसँगै आफ्नो केन्द्रिय कार्यालयमा राखिएको फिंगरप्रिन्ट मेसिनबाट भाइरस सर्ने आशंकाका साथ लिक्विड स्यानिटाइजर राखेको थियो । तर सो स्यानिटाइजर सो स्थानमा छैन् । अर्थात टेलिकमका कर्मचारीले नै सो स्यानिटाइजर चोरेका छन्।
कर्मचारीले नै टेलिकम कार्यालयमा भाइरस संक्रमण रोक्नका लागि राखिएको स्यानिटाइजरको बोटल प्याक नै चोरेपछि कर्मचारी वृत्तमा कसले चोर्यो भन्ने चर्चा भएको छ ।
सो बारेमा कम्पनीले हेरिरहेको र कसले चोरेको हो भन्ने पत्ता लगाउन सिसी क्यामरा अध्ययन गरिने बताईएको छ ।
टेलिकमका एक अधिकारीले सो बारेमा सिसी क्यामराबाट पत्ता लगाउने काम भईरहेको र यो निकै गलत भएको बताए । ‘यसले टेलिकमका कर्मचारीहरु कुन हदसम्म तल झर्नसक्दछन् भन्ने देखियो,’ ती अधिकारीले भने ।
पहिलो पटक स्यानिटाइजरको बोटल नै चोरीभएपछि अर्कोपटक कम्पनीले भित्तामा राख्ने किसिमको वाल माउन्ट स्यानिटाइजर राखेको थियो । सो भित्तामा टाँसेर राखिएको स्यानिटाइजर प्याक पनि केहि दिनमा नै हराएको थियो ।
दुई पटक स्यानिटाइजर चोरीभएपछि कम्पनीले फिंगरप्रिन्ट मेसिनका साथै स्यानिटाइजर नराखेपनि अन्य स्थानहरुमा भने स्यानिटाइजरको प्रयोग गरिरहेको छ ।
टेलिकमकै अर्का एक अधिकारीले भने अहिलेको अवस्थामा केन्द्रिय कार्यालयभित्रै स्यानिटाइर हराउनु गंभिर विषय भएको बताए ।
‘एक पल्ट स्यानिटाइजर हराएपछि पुन राख्दा पनि हराउँछ भने त्यो गंभिररुपमा हेरिनुपर्छ,’ ती अधिकारीले भने । उनले कर्मचारीले नै चोरेको भन्न नसकिने र अन्य मानिसहरुले पनि लगेको हुनसक्ने आशंका व्यक्त गरे ।
कोरोनाभाइरसको त्रास बढेसँगै टेलिकमले फागुनदेखि नै कार्यालयमा आउने बाहिरी मानिसहरुलाई समेत परिचयपत्र देखाएर मात्र प्रवेश गर्न दिने नियम लागू गरेको छ ।
त्यस्तै टेलिकमको नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनले भने फिंगरप्रिन्ट डिटेक्सन सिस्टमको हाजिरी प्रणालीलाई हटाई सोको स्थानमा फेस डिटेक्सन सिस्टमको हाजिरी प्रणाली जडान व्यवस्थापनसँग भनेको छ ।
प्रकाशित: ६ चैत्र २०७६, बिहीबार