
काठमाडौं ।
काठमाडौं । पूँजीगत लाभकर तिर्ने विषयमा एनसेल प्रालिले चालु आर्थिक वर्ष किस्ताबन्दीमा रकम तिर्ने सुविधा माग गरेको छ ।
व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको आजको बैठकमा अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर कुमार ढुंगानाले बाँकी पूँजीगत लाभकर तिर्न एनसेलले किस्ताबन्दीरुपमा कर दाखिला गर्नेगरि योजना पेश गरेको जानकारी दिए ।
एनसेलले आफूले तिर्नुपर्ने बाँकी पूँजीगत लाभकरमध्ये ४ अर्ब ५० करोड यसअघि नै दाखिला गरेको र बाँकी रकम चालु आर्थिक वर्षभित्रै तिर्नेगरि किस्ताबन्दीको सुविधा माग गरेको उनले बताए ।
‘आयकर ऐन २०५८ को दफा ११० ‘क’ बमोजिम करदाताले किस्ताबन्दीरुपमा कर दाखिला गर्न सक्ने प्रावधान रहेको छ, सोहि अनुसार एनसेलले मार्च महिनाको अन्तिम, अप्रिल महिनाको अन्तिम, मे महिनाको अन्तिम र जून महिनाको अन्तिमसम्ममा मासिकरुपमा ४ अर्ब ५४ करोड रुपैयाँ बुझाउने योजना पेश गरेको छ,’ राजस्व सचिव ढुंगानाले भने ।
एनसेलले तिर्नुपर्ने करिब २२ अर्ब ४४ करोड रुपैयाँ मध्ये ४ अर्ब ५० करोड तिरिसकेको छ भने बाँकी रकम १८ अर्ब १८ करोड ५२ लाख २५ हजार ४९५ रुपैयाँ भने किस्तामा बुझाउन माग गरेको हो ।
सो रकम किस्ताबन्दीमा बुझाउन सकिने प्रावधान भएपनि ठूला कर दाता कार्यालयले भने त्यसको स्वीकृति दिएको छैन् ।
‘हामीले एनसेलको सेड्यूल एप्रुभ गरिसकेका छैनौं, अन्य ट्याक्स डिफल्ट छैन्,’ राजस्व सचिव ढुंगानाले स्पष्ट पारे ।
उनले चालु आवभित्रै जुनसुकै अवस्थामा रकम असुल गर्न तयार रहेको जानकारी दिए ।
ठूला करदाता कार्यालयले पनि एनसेलको पूँजीगत लाभकरको विषयमा नेपाल दूरसंचार प्राधिकरणले सोधेको पत्रको जवाफ दिँदै कर कार्यालयले पनि सोहि बिबरणअनुसारको पत्र पठाएको थियो । जसमा मासिकरुपमा ४ अर्ब ५४ करोड ६३ लाख ६ हजार रुपैयाँको दरले कर तिर्न किस्ताबन्दी योजना पेश गरेको उल्लेख छ ।
प्रकाशित: १९ माघ २०७६, आईतवार