१५ दिने डिजिटल मार्केटिङ तालिम सञ्चालन गर्दै नागार्जुन नगरपालिका, आवेदन दिने म्याद मंसिर २१ गतेसम्म
काठमाडौं ।
काठमाडौंको नागार्जुन नगरपालिकाले नगरपालिकाका स्थायी बासिन्दाका लागि १५ दिने डिजिटल मार्केटिङ तालिम सञ्चालन गर्ने भएको छ।
नगरपालिकाले इच्छुक व्यक्तिलाई तालिममा सहभागी हुन आह्वान गर्दै केही दिन अघि १५ दिने सार्वजनिक सूचना जारी गरेको थियो। नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार इच्छुक व्यक्तिले मंसिर २१ गतेभित्र कार्यालय समयमा सामाजिक विकास शाखामा निवेदन पेस गर्न सक्नेछन्।
तालिममा सहभागी हुन चाहने व्यक्तिले निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र न्यूनतम कक्षा १२ उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ। यसअघि कम्प्युटर तालिम लिएको वा अध्ययन गरेको भए सोको प्रमाणपत्रको प्रतिलिपि पनि बुझाउनुपर्नेछ।
त्यस्तै, तालिम अवधिभर नियमित सहभागी हुने प्रतिबद्धतासहितको स्वघोषणा पत्र पेस गर्नुपर्नेछ। यसअघि समान प्रकृतिको तालिम लिएको भए त्यसबारे पनि खुलाउनुपर्ने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले डिजिटल मार्केटिङसम्बन्धी सीप र ज्ञान विकास गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गर्न लागेको हो।