आइसिटी अवार्ड २०२६ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू
काठमाडौं ।
एघारौँ संस्करणको ‘आइसिटी अवार्ड २०२६’ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक गरिएको छ। स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ घोषणा गरिएको हो।
कम्पनीका अनुसार, यस वर्ष ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२६ इन एसोसिएसन विथ नेपाल पे, टिंगटिंग र पावर्ड वाई सस्तो टिकेट’ को रुपमा पुष पहिलो साता एघारौँ संस्करणको आइसिटी अवार्ड हुने छ।
उत्कृष्ट ५ छनौटका लागि मंसिर ५ र ६ ग्राण्ड जुरी सेसन सञ्चालन भएको थियो। अवार्डका सेमिफाइनलिष्टहरूले १४ जना विज्ञ जुरी समक्ष आफ्नो स्टार्टअप, इन्नोभेसन र परियोजना बारे प्रस्तुती दिएका थिए भने स्पिड डेटिङमा पनि सहभागी भएका थिए।
ग्राण्ड जुरीसहित आइसिटी अवार्डका विभिन्न प्रि–इभेन्टलाई समेटेर मंसिर १६ गतेदेखि हिमालयन टेलिभिजन एचडीमा प्रसारण हुनेछ।
स्टार्टअप आइसिटी अवार्ड २०२६ विधामा उत्कृष्ट ५ मा पर्ने स्टार्टअपहरूमा एक्सेलेरेटेड कम्प्युटिङ प्राइभेट लिमिटेड, गरुडएक्स मल्टिपर्पज प्राइभेट लिमिटेड, गोमाइगो बुकिङ्स प्राइभेट लिमिटेड, लुमिनो टेक्नोलोजी प्राइभेट लिमिटेड र योद्धा ल्याब प्राइभेट लिमिटेडरहेका छन्।
यसैगरी प्रडक्ट आइसिटी अवार्ड २०२६ विधामा बाइटआउट, सेन्ट्रोनिक्स, एक्साना, वानबीएनपीएल र पीडीएफमर्जेली उत्कृष्ट ५ मा पर्न सफल भएका छन्। त्यस्तै राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२६ विधाका उत्कृष्ट ५ मा इभोमो, लाइफ लाइन, प्रेडिक्सन अफ प्रेडिक्सन, सिन्याप्टिक र ट्राफिक आई रहेको कम्पनीले जानकारि दिएको छ।
साथै सोसल इन्नोभेसन विधामा बरबर्दिया एग्रो–मेट्रोलोजिकल मेसेज एन्ड एड्भाइजरी सिस्टम, निदान ईएचआर, खेल्दै सिक्दै कक्षा, अपस्केलिङ स्मार्ट पब्लिक ट्वाइलेट्स फर बेटर स्यानिटेसन र राइड टु अर्न उत्कृष्ट ५ मा परेका छन्। आइसिटी अवार्ड २०२६ का यी ४ विधाहरुमा ४०० बढीको नोमिनेसन प्राप्त भएको थियो। यसअघि स्टार्टअप र सोसल इन्नोभेसन विधामा उत्कृस्ट १० तथा प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा उत्कृस्ट १५ सेमिफाइनलिष्टहरू छनौट गरिएको थियो।
सेमिफाइनलिष्टहरूले ट्रेनिङ, मेन्टरिङ, इन्डष्ट्री भिजिट र गत मंसिर ३ र ४ गते भएको सनवे स्टार्टअप आईडिया फेस्ट २०२६ मा सहभागी हुने अवसर समेत प्राप्त गरेका थिए। उत्कृष्ट ५ सार्वजनिक भएसँगै पब्लिक भोटिङ सुरू भएको छ।
‘हाम्रो पे’ मार्फत मन पर्ने स्टार्टअप, प्रडक्ट र इन्नोभेसनलाइ भोट गर्न सकिने छ। स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन विधामा जुरीको मूल्यांकन, फिल्ड भिजिट र पब्लिक भोटिङका आधारमा सर्वोत्कृष्ट छनौट गरिने छ।
साथै अवार्डका सेमिफाइनलिष्टहरू पब्लिक च्वाइस आइसिटी अवार्ड २०२६ मा सहभागी हुन पाउने छन्। यस विधाका लागि ‘हाम्रो पे’बाटै आफुलाई मन पर्ने सेमिफाइनलिष्टहरूलाई भोट गर्न सकिने छ। सबैभन्दा बढी भोट ल्याउने प्रतिस्पर्धीलाई पब्लिक च्वाइस आइसिटी अवार्ड प्रदान गरिने छ।