आर्टिफिसियल इन्टेलिजेन्स

अमेरिकी चिप प्रतिबन्ध र डिस्टिलेसनमाथिको कारबाहीले चिनियाँ एआई मोडेल विकासमा चुनौती थप्ने

अमेरिकी चिप प्रतिबन्ध र डिस्टिलेसनमाथिको कारबाहीले चिनियाँ एआई मोडेल विकासमा चुनौती थप्ने
Global IME Bank

चीनको एआई कम्पनी जेडएआई आफ्नो अर्को प्रमुख एआई मोडेल सार्वजनिक गर्ने समयतालिकाभन्दा पछाडि परेको छ। प्रतिस्पर्धी कम्पनी मुनसट एआईले पनि विदेशमा उपलब्ध कम्प्युटिङ क्षमतामा पहुँच गुमाएमा प्रमुख मोडेल सार्वजनिक गर्ने अन्तराल छ महिनाबाट बढेर एक वर्ष वा त्योभन्दा लामो हुन सक्ने अनुमान गरेको छ। यसबारे जानकार व्यक्तिहरूले बताएका छन्।

अहिलेसम्म सार्वजनिक नभएका यी विवरणले अमेरिकी एआई कम्पनी ओपनएआई र एन्थ्रोपिकले डिस्टिलेसन रोक्न गरेका प्रयासले चिनियाँ एआई विकासको गति सुस्त बनाएको देखाउँछन्। डिस्टिलेसन भनेको बढी क्षमता भएका एआई मोडेलले दिएका उत्तर प्रयोग गरेर नयाँ मोडेललाई तालिम दिने प्रविधि हो। यसैबीच, वासिङ्टनले हालै लागू गरेका चिपसम्बन्धी प्रतिबन्धले विकासमा थप ढिलाइ हुने जोखिम बढाएको छ।

यी उपायले निर्यात नियन्त्रणका वर्षौँदेखिका प्रतिबन्धका बाबजुद अमेरिकी प्रतिस्पर्धीलाई चुनौती दिन चिनियाँ एआई कम्पनीलाई सहयोग गरेको एउटा प्रमुख फाइदामाथि जोखिम पैदा गरेका छन्। त्यो हो, निकै कम लागतमा प्रतिस्पर्धी मोडेल विकास गर्ने क्षमता।

रोयटर्सका अनुसार अमेरिकी वाणिज्य विभागले नोभेम्बर १९ देखि लागू गरेको एउटा नियमले विदेशस्थित डेटा सेन्टरमा रहेका उन्नत अमेरिकी चिपबाट ठूलो परिमाणमा कम्प्युटिङ क्षमता प्राप्त गर्न चिनियाँ कम्पनीलाई रोक्ने उद्देश्यले लाइसेन्स अनिवार्य गरेको छ। यो नियमले एनभिडियाका प्रोसेसर आयात नगरी तिनमा पहुँच प्राप्त गर्ने माध्यमलाई लक्षित गरेको छ।

जेडएआई (जिपु एआईका नामले पनि चिनिने) ले आफ्नो अर्को प्रमुख मोडेल जीएलएम–५.५ यसै महिना सार्वजनिक गर्ने योजना बनाएको थियो। तर, अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन। यसबारे जानकार दुई व्यक्तिले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन्।

करिब तीन ट्रिलियन प्यारामिटर रहेको यो मोडेलको विकास डिस्टिलेसन रोक्ने सुरक्षा उपाय प्रभावकारी बन्दै गएकाले आंशिक रूपमा प्रभावित भएको एक व्यक्तिले बताए। प्यारामिटरलाई मोडेलको आकार मापन गर्ने एउटा आधार मानिन्छ।

जेडएआईले वर्षको अन्त्यसम्ममा मोडेलको तालिम पूरा गरी सार्वजनिक गर्ने अपेक्षा गरेको थियो। तर, अमेरिकाले लगाएका नयाँ कम्प्युटिङ प्रतिबन्धका कारण यसको सार्वजनिक गर्ने समय सन् २०२७ को पहिलो त्रैमासिक वा त्यसपछि धकेलिन सक्ने ती व्यक्तिले बताए।

यस विषयमा टिप्पणी गर्न अनुरोध गर्दा जेडएआईले तत्काल प्रतिक्रिया नदिएको रोयटर्सले उल्लेख गरेको छ।

सोमबार कम्पनीले ७५० अर्ब प्यारामिटर भएको विद्यमान मोडेलमा आधारित जीएलएम–५.४ सार्वजनिक गरेको थियो। नयाँ डिजाइनका कारण दुईदेखि तीन ट्रिलियन प्यारामिटर भएका मोडेलसरह प्रदर्शन गर्न सक्ने जेडएआईको दाबी छ।

एन्थ्रोपिकले सेप्टेम्बरमा आफ्नो क्लाउड मोडेलसँग भएका करिब २० करोड संवाद डिस्टिलेसन अभियानसँग सम्बन्धित रहेको पत्ता लगाएको बताएको थियो। कम्पनीले ती गतिविधिमा अलिबाबा, मुनसट र जेडएआईसहितका चिनियाँ विकासकर्ता संलग्न रहेको आरोप लगाएको थियो।

ओपनएआईले पनि मुनसटसँग सम्बन्धित व्यक्तिहरूमाथि यस्तै आरोप लगाएको छ। एन्थ्रोपिकले अनधिकृत डिस्टिलेसन पहिचान गर्न र रोक्न प्रयोग गर्ने उपायबारे जानकारी दिएको छ भने ओपनएआईले पनि यस्ता गतिविधि अवरुद्ध पार्न प्रयास गरिरहेको जनाएको छ।

मुनसटले यस विषयमा टिप्पणी गर्न तत्काल प्रतिक्रिया दिएन। यसअघि भने कम्पनीले आफ्नो किमी के३ मोडेलको क्षमता डिस्टिलेसनबाट हासिल गरिएको भन्ने दाबी अस्वीकार गरेको थियो। जुलाईमा चीनको नेसनल बिजनेस डेलीलाई दिएको जानकारीमा कम्पनीले मोडेलको प्रदर्शनमा आएको सुधार आफ्नो आधारभूत संरचनामा गरिएको मौलिक परिवर्तनका कारण भएको बताएको थियो।

Sajilo Visa
easy care