भारतको निर्वाचन आयोगको वेबसाइटमा मतदाताको विवरण सार्वजनिक गर्ने सुरक्षा कमजोरी सुधार: रिपोर्ट
काठमाडौं ।
भारतको निर्वाचन आयोग (ईसीआई) को वेबसाइटमा रहेको सुरक्षा कमजोरीका कारण केही मतदाताका संवेदनशील व्यक्तिगत विवरण र कागजातमा पहुँच सम्भव भएको थियो। उक्त कमजोरी पत्ता लगाएर आयोगलाई जानकारी गराएपछि त्यसलाई सुधार गरिएको रोयटर्सले जनाएको छ।
अनुसन्धानकर्ताहरूका अनुसार रोयटर्सले पहिलोपटक सार्वजनिक गरेको यो सुरक्षा कमजोरीको सजिलै दुरुपयोग हुन सक्थ्यो।
भारतका सबैभन्दा बढी जनसंख्या भएको उत्तर प्रदेशसहित केही प्रमुख राज्यमा निर्वाचन हुन केही महिनामात्र बाँकी रहेका बेला यो सुरक्षा समस्या सार्वजनिक भएको हो। यसैबीच, मतदाता सूची अद्यावधिक गर्ने विवादास्पद अभियानका कारण निर्वाचन आयोगप्रति जनआक्रोश पनि बढिरहेको छ।
विपक्षी दल र अधिकारकर्मीहरूले मतदाता सूची अद्यावधिक गर्ने अभियानका कारण लाखौँ मतदाता मतदानको अधिकारबाट वञ्चित भएको र त्यसबाट प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई फाइदा पुगेको आरोप लगाएका छन्। निर्वाचन आयोगले भने सबै नियमको पालना गरेको जनाएको छ। भारतीय जनता पार्टीले भने निर्वाचनमा पराजित भएपछि विपक्षी समूहहरूले देशलाई भ्रमित पारिरहेको आरोप लगाएको छ।
रोयटर्सले एक महिनाभन्दा बढी समय लगाएर गरेको निर्वाचन आयोगको वेबसाइटसम्बन्धी अध्ययनमा एउटा कमजोरी फेला पारेको थियो। मतदाताले आफ्नो खातामा लगइन गरेर स्थानीय निर्वाचन अधिकारीसँग फोनमार्फत कुराकानी गर्न अनुरोध गर्दा सामान्य ब्राउजरको डेभलपर टुल्समा रहेको नेटवर्क ट्याबमा अनलाइन मतदाता दर्ता गर्न वा आफ्नो विवरण अद्यावधिक गर्न बुझाइएको फारामको सन्दर्भ नम्बर देखिन्थ्यो। ब्राउजरमा दायाँ क्लिक गरेर डेभलपर टुल्स खोल्न सकिन्छ।
ती सन्दर्भ नम्बर प्रयोग गरेर फोनमार्फत कुराकानी गर्ने समय बुक गर्दा नेटवर्क विवरणमा प्रयोगकर्ताको नाम, फोन नम्बर, इमेल, जन्ममिति र ठेगानाजस्ता व्यक्तिगत जानकारी देखिन्थे। साथै, बुझाइएका राहदानीजस्ता परिचयपत्रका कागजात रहेका फाइलको मार्ग (फाइल पाथ) समेत देखिन्थ्यो।
यी विवरण ब्राउजरको मुख्य स्क्रिनमा भने देखिँदैनथे। यसले वेबसाइटको कोडमा सुरक्षा कमजोरी रहेको संकेत गर्ने भारतीय साइबर सुरक्षा अनुसन्धानकर्ता करण सैनी र एह्राज अहमदले बताएका छन्। उनीहरूले निर्वाचन आयोगको वेबसाइटमा रोयटर्सले पत्ता लगाएका कमजोरीहरू चरणबद्ध रूपमा परीक्षण गरेका थिए।
अनुसन्धानकर्ताहरूका अनुसार अझ ठूलो चिन्ताको विषय ती सन्दर्भ नम्बरहरू निश्चित अनुमान गर्न सकिने ढाँचामा हुनु थियो। यसको अर्थ ह्याकरहरूले नम्बरहरू अनुमान गर्न र स्वचालित प्रणाली प्रयोग गरेर ठूलो परिमाणमा डेटा डाउनलोड गर्न सक्थे।
सामान्य प्रयोगकर्ताले फोनमार्फत कुराकानीको समय बुक गर्दा यस्तो प्रक्रिया अपनाउने सम्भावना कम भए पनि साइबर अपराधीले भने यसलाई प्रयोग गर्न सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्। उनीहरूका अनुसार अपराधीले यो प्रक्रिया स्वचालित बनाएर ठूलो परिमाणमा डेटा संकलन गरी दुरुपयोग गर्न सक्थे।
रोयटर्सले अक्टोबर २६ मा पहिलोपटक आफ्नो अनुसन्धानका निष्कर्ष निर्वाचन आयोग र यसका तीन आयुक्तलाई पठाएर प्रतिक्रिया मागेको थियो। पटक–पटक अनुरोध गर्दा पनि उनीहरूले जवाफ दिएका थिएनन्।
बिहीबार निर्वाचन आयोगका एक प्रवक्ताले आयोगको सूचना प्रविधि विभागलाई अनुसन्धानका निष्कर्षबारे अध्ययन गर्न भनिएको जानकारी दिए। त्यसको केही घण्टापछि नै सुरक्षा कमजोरी सुधार गरिएको थियो। रोयटर्सको पछिल्लो समीक्षा र दुई अनुसन्धानकर्ताका अनुसार व्यक्तिगत विवरण तथा फाइल पाथसहितका संवेदनशील जानकारी हटाइएको छ।
सुरक्षा अनुसन्धानकर्ताहरूले पनि सुधारपछि उक्त डेटाको दुरुपयोग गर्ने सम्भावना प्रभावकारी रूपमा रोकिएको पुष्टि गरेका छन्।