ह्वावेको ‘हार्मोनीओएस’ सञ्चालन हुने डिभाइसहरुको संख्या १० करोड नाघ्यो
काठमाडौं ।
ह्वावेको ‘हार्मोनी ओएस’ सञ्चालन हुने डिभाइसहरूको संख्या १० करोड नाघेको बताइएको छ। यस संख्यालाई कम्पनीले एक महत्त्वपूर्ण कोसेढुङ्गाका रूपमा व्याख्या गरेको छ।
‘चाइना डेली’ का अनुसार, कम्पनीका कार्यकारी निर्देशक तथा टर्मिनल बिजनेस ग्रुपका अध्यक्ष यु चेङडोङले एक कार्यक्रममा बोल्दै हार्मोनी ओएस अब परिपक्वता, उपयोगिता र नवीनतामा आधारित विकासको नयाँ चरणमा प्रवेश गरेको बताएका छन्।
ह्वावेका अनुसार, स्मार्टफोन, ट्याब्लेट र पीसी लगायतका १० करोडभन्दा बढी टर्मिनल डिभाइसहरूमा अहिले हार्मोनी ओएस सञ्चालनमा छन्। साथै, १ करोड २० लाखभन्दा बढी दर्ता भएका विकासकर्ताहरुद्वारा निर्माण गरिएका ४ लाख ६० हजारभन्दा बढी एप्लिकेसन र सेवाहरू यस प्लेटफर्ममा उपलब्ध छन्।
उक्त कार्यक्रममा युले यो कुरा स्वीकार गरे कि ह्वावेले एक्लै इकोसिस्टमका अवरोधहरू तोडेको नभई; यस कार्यमा कम्पनीसँगै साझेदारहरू, प्रयोगकर्ताहरू र विकासकर्ताहरूले पनि अपरेटिङ सिस्टमलाई अझ सुदृढ बनाउन सहकार्य गरेका थिए।
‘चाइना डेली’ का अनुसार, यो हुवावेका लागि एक महत्त्वपूर्ण कोसेढुङ्गा त हुँदै हो, साथै ‘हार्मोनी ओएस’ को बढ्दो स्वीकार्यताले चीनको आफ्नै प्रविधि विकास र बौद्धिक युगमा औद्योगिक प्रगतिको ठूलो स्तरमा भइरहेको कार्यान्वयनलाई पनि दर्शाउँछ।
यो अपरेटिङ सिस्टम पहिलो पटक सन् २०१९ मा सार्वजनिक गरिएको थियो भने सन् २०२४ मा यसलाई पहिलो पटक ह्वावेको स्मार्टफोनमा पूर्ण रूपमा उपलब्ध गराइयो।