एप्लिकेसन

सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा बालबालिकाको चरित्रहत्या गर्ने ९ जना पक्राऊ

सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा बालबालिकाको चरित्रहत्या गर्ने ९ जना पक्राऊ
एआईको सहयोगमा तयार पारिएको
Global IME Bank

सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा बालबालिकाको चरित्रहत्या गर्ने, अश्लील सामग्री सार्वजनिक गर्ने, धम्की दिने तथा ब्ल्याकमेलिङ गर्ने कार्यमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले सञ्चालन गरेको ‘अपरेसन डिजिटल अनर’ अन्तर्गत पछिल्लो २४ घण्टामा विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो।

ब्यूरोका प्रवक्ता दिपक राज अवस्थीका अनुसार फेसबुक, टिकटक, इमो, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा नक्कली खाता बनाएर महिला तथा बालबालिकालाई लक्षित गरी अनलाइन दुर्व्यवहार गर्ने, अपमानजनक तथा अशोभनीय अभिव्यक्ति दिने, धम्की दिने, चरित्रहत्या गर्ने, व्यक्तिगत तस्बिर तथा भिडियोको दुरुपयोग गर्ने र नक्कली खाता बनाएर भ्रम सिर्जना गर्ने कार्यमा उनीहरू संलग्न रहेको पाइएको छ।

पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका–१ का २६ वर्षीय आशिष तामाङ, ललितपुर महानगरपालिका–१४ का ३७ वर्षीय रोहित विक्रम राणा र भारतको बिहार स्थायी घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–१ बस्ने ३२ वर्षीय महमद फैसल एजाज रहेका प्रहरीले जनाएको छ।

त्यसैगरी, इलाम देउमाई नगरपालिका–९ का ३७ वर्षीय विमल दर्जी खत्री, म्याग्दीका ५६ वर्षीय दिलबहादुर मगर, उदयपुर चौदण्डीगढी नगरपालिका–९ का २५ वर्षीय सुवास कार्की र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ का ३२ वर्षीय चिरञ्जीवी सापकोटा पनि पक्राउ परेका छन्। यसै क्रममा १५ र १६ वर्षका दुई जना बालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये केहीले पीडितका गोप्य तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरी चरित्रहत्या गर्ने, अश्लील सामग्री पठाउने तथा गालीगलौज गर्ने गरेका थिए। केहीले सामाजिक सञ्जालका खाता ह्याक गरी व्यक्तिगत तस्बिर तथा भिडियो सार्वजनिक गर्ने धम्की दिँदै रकम माग्ने र मानसिक दुःख तथा हैरानी दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका सबैमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

प्रहरीले आगामी दिनमा पनि यस अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने जनाएको छ। विभिन्न माध्यमबाट प्राप्त उजुरी तथा सूचनाको अनुसन्धान र विश्लेषण गरी यस्ता गतिविधिमा संलग्न व्यक्तिको पहिचान गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइने ब्यूरोले जनाएको छ।

साथै सामाजिक सञ्जालमार्फत हुने दुर्व्यवहार, धम्की, चरित्रहत्या तथा अन्य साइबर अपराधबाट पीडित भएकाहरूलाई नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरी साइबर ब्युरोमा उजुरी तथा सूचना दिन प्रहरीले अनुरोध गरेको छ।

Sajilo Visa
easy care