सुरक्षाको प्रमाण दिनेअनौठो तरिका: यो चिनियाँ कम्पनीले कारलाई भीरबाट खसाल्यो
काठमाडौं ।
सन् २०२६ नोभेम्बरको सुरुवातमा बीवाईडीले आफ्नो यू९ एक्सट्रिम मोडलमार्फत उत्पादन कारको गति रेकर्ड तोडेर ध्यान आकर्षित गरेको थियो। करिब ३ हजार हर्सपावर क्षमताको उक्त कारले प्रतिघण्टा ५०३.१७ किलोमिटरको गति हासिल गरेको थियो।
अहिले अर्को चिनियाँ कम्पनी जिलीले आफ्नो नयाँ लिन्क एन्ड कम्पनी ०७ जीटी मोडलको प्रचारका लागि त्यस्तै चकित पार्ने तरिका अपनाएको छ। कम्पनीले कारको टिकाउपन र सुरक्षा प्रमाणित गर्ने भन्दै उक्त कारलाई भीरबाट खसाएको छ।
टेलिग्राफका अनुसार चीनको झाङजियाकोउमा उत्पादन भइसकेको कार प्रयोग गरेर यो असामान्य दुर्घटना परीक्षण गरिएको थियो। सार्वजनिक भिडियोमा कारलाई प्रतिघण्टा ७० किलोमिटरको गतिमा र्याम्पबाट उफारिएको देखिन्छ। त्यसपछि कार भीरको किनार नाघेर हावामा उड्दै अगाडिको भागले जमिनमा बजारिन्छ।
जमिनमा ठोक्किएपछि कार उफ्रिँदै र पटक–पटक घुम्दै अन्ततः आफ्नै पाङ्ग्रामा अडिएर रोकिन्छ।
भिडियोको अन्त्यमा कारका चारवटै ढोका कुनै समस्या बिना खुल्छन्। साइडका सिसा र अगाडिको विन्डसिल्ड पनि सुरक्षित देखिन्छन्। कारको सिसाको छत भने चर्किएको छ, तर भत्किएको छैन।
जिलीले दुर्घटनापछि साइड एयरब्यागमा छ सेकेन्डभन्दा बढी समयसम्म हावाको चाप कायम रहेको पनि जनाएको छ। यद्यपि, यो परीक्षणले यस्तै दुर्घटना हुँदा लिन्क एन्ड कम्पनी ०७ जीटीका सबै कारले उस्तै प्रतिक्रिया दिन्छन् भन्ने सुनिश्चित गर्दैन।
यसका साथै, यो मोडलको स्वतन्त्र निकायबाट दुर्घटना सुरक्षा परीक्षणसमेत भइसकेको छैन।