एनभिडियाका प्रमुखसँग सम्बन्धमा रहेका बेला एलिस हुआङ चिनियाँ गुप्तचर निकायको सम्पर्कमा रहेको न्युयोर्क टाइम्सको दाबी
काठमाडौं ।
एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङसँग सम्बन्धमा रहेका बेला विवादको केन्द्रमा रहेकी चिनियाँ महिला एलिस हुआङ एक वर्षभन्दा बढी समयसम्म चीनको प्रमुख गुप्तचर निकायका एक अधिकारीको सम्पर्कमा रहेको न्युयोर्क टाइम्सले आइतबार जनाएको छ।
गुप्तचर प्रतिवेदनबारे जानकारी राख्ने व्यक्तिहरूलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार एलिसले सन् २०२५ को वसन्तदेखि यस वर्षको शरद ऋतुसम्म चीनको राज्य सुरक्षा मन्त्रालयका एक अधिकारीसँग सम्पर्क राखेकी थिइन्।
जेन्सेन हुआङका प्रवक्ताले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन्। एनभिडिया र वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले पनि समाचार तयार पार्दासम्म टिप्पणीका लागि गरिएका अनुरोधको जवाफ दिएका थिएनन्। रोयटर्सले एलिस हुआङसँग पनि प्रतिक्रिया लिन सकेको छैन।
रोयटर्सका अनुसार एलिस हुआङले यसअघि सिंगापुरमा आधारित मेगास्पिड इन्टरनेसनलको नेतृत्व गरेकी थिइन्। उक्त कम्पनी एनभिडियाको महत्त्वपूर्ण ग्राहक थियो र कुनै समय एनभिडियाका चिप बिक्रीमा अर्बौं डलरको कारोबार गर्थ्यो।
अमेरिकी अधिकारीहरूले सन् २०२४ देखि नै मेगास्पिडमाथि अनुसन्धान गरिरहेका छन्। कम्पनीले एनभिडियाका उन्नत कृत्रिम बुद्धिमता चिप्स तस्करी गरेर चीन पुर्याएको आशंका अनुसन्धानको मुख्य विषय हो।
आइतबारको समाचार सार्वजनिक भइरहँदा अमेरिकी अधिकारीहरूले एलिस हुआङ जासुस भएको भन्ने प्रारम्भिक आशंकामाथि प्रश्न उठाइरहेका छन्। गत अक्टोबरमा न्युयोर्क टाइम्सले यसबारे समाचार प्रकाशित गरेको थियो।
अक्टोबर २९ मा प्रकाशित उक्त समाचारपछि विवाद सुरु भएको थियो। त्यसको दुई सातापछि जेन्सेन हुआङले पदबाट राजीनामा दिएका थिए भने एनभिडियाको सेयर मूल्यमा ठूलो गिरावट आएको थियो।
ट्रम्प प्रशासनका अधिकारीहरूले एलिस हुआङले चीनका लागि जासुसी गरेको निष्कर्षमा आफूहरू नपुगेको पटकपटक बताउँदै आएका छन्।
अमेरिकी महान्यायाधिवक्ता टोड ब्लान्चेले यसै महिना न्याय विभागले एलिस हुआङ चिनियाँ जासुस हुन् वा होइनन् भन्ने निष्कर्षमा नपुगेको बताएका थिए।
अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनले पनि आइतबार यही धारणा दोहोर्याए।
‘महान्यायाधिवक्ता ब्लान्चेले यो विषय अनुसन्धानको क्रममा रहेको स्पष्ट पारिसक्नुभएको छ। विभिन्न विषयमा सुश्री हुआङ र उनको कम्पनीमाथि अनुसन्धान भइरहेको छ,’ क्लेटनले सीएनएनको ‘स्टेट अफ द युनियन’ कार्यक्रममा भने, ‘म अनुसन्धानलाई अघि बढ्न दिनेछु।’
यस विवादले चीनतर्फ गरिने प्रविधि निर्यात नियन्त्रणसम्बन्धी अमेरिकी नीतिमाथि पनि थप बहस सुरु गराएको छ। दुवै प्रमुख राजनीतिक दलका सांसदहरूले महत्त्वपूर्ण मानिएका सेमिकन्डक्टर चिप्सको निर्यात नियन्त्रण र नियमनमा ट्रम्प प्रशासनले पर्याप्त कडाइ नगरेको हो कि भन्ने प्रश्न उठाएका छन्।
तर दुई जनाबीचको सम्बन्धबारे भने अमेरिकी सिनेटर तथा लुइजियानाका रिपब्लिकन नेता जोन केनेडीले खासै चासो नरहेको बताएका छन्।
आइतबार एनबीसीको ‘मिट द प्रेस’ कार्यक्रममा उनले भने, ‘आशा छ, उनले राम्रो समय बिताए। यो हेलेन अफ ट्रोयपछिको सबैभन्दा महँगो यौन सम्बन्ध थियो।’