‘विद्युतीय गाडी पार्क गरेकै भरमा चार्ज हुने’ प्रविधि विकास हुने क्रममा, वायरलेस चार्जिङ थप प्रभावकारी बन्ने
काठमाडौं ।
जापानका अनुसन्धानकर्ताहरूले विद्युतीय सवारीसाधन (ईभी) पार्क गरेकै भरमा चार्ज गर्न सकिने प्रविधि विकास गरेका छन्।
ईभी बजारमा वायरलेस चार्जिङ प्रविधि अझै प्रारम्भिक चरणमा छ। तर, सडक र पार्किङ क्षेत्रमा वायरलेस चार्जिङ उपकरण जडान बढाएर ईभी उद्योगलाई ठूला प्लग र तारमा आधारित चार्जिङ पूर्वाधारबाट मुक्त गर्न सकिने वैज्ञानिकहरूको अपेक्षा छ।
यो प्रविधिले आधुनिक स्मार्टफोन तथा अन्य विद्युतीय उपकरणमा प्रयोग हुने वायरलेस पावर ट्रान्सफर प्रणालीकै सिद्धान्तमा काम गर्छ। जमिनमा राखिएको चार्जिङ प्याडभित्रको ट्रान्समिटर क्वाइलले परिवर्तनशील चुम्बकीय क्षेत्र सिर्जना गर्छ। यसले गाडीको तल्लो भागमा रहेको रिसिभर क्वाइलमा विद्युतीय करेन्ट उत्पन्न गर्छ। यही करेन्टले ईभीको ब्याट्री चार्ज गर्छ।
तर, यी दुई क्वाइलबीच सामान्य दूरी वा स्थानको असन्तुलन हुँदा ब्याट्री चार्ज हुने गति र प्रभावकारितामा असर पर्न सक्छ।
नयाँ प्रणालीले छोटो दूरीका रेडियो सिग्नल प्रयोग गरी जमिनमा रहेको चार्जिङ उपकरणको तुलनामा गाडीको चुम्बकीय चार्जिङ क्वाइलको स्थान पत्ता लगाउँछ। यसले क्वाइलबीचको दूरी र कोणसमेत मापन गर्छ। त्यसका आधारमा गाडी र चालकलाई प्रभावकारी चार्जिङका लागि उपयुक्त स्थानमा पुग्न सहयोग गर्छ।
अनुसन्धानकर्ताहरूका अनुसार, यो प्रविधि चालकविहीन रोबोट्याक्सी र अन्य स्वचालित सवारीसाधनका लागि विशेष उपयोगी हुन सक्छ। यस्ता सवारीसाधनलाई मानवीय सहयोगबिना छिटो र प्रभावकारी रूपमा चार्ज गर्नुपर्ने हुन्छ। अनुसन्धानको निष्कर्ष अगस्ट २६ मा ‘आईईईई ओपन जर्नल अफ भेहिकुलर टेक्नोलोजी’ मा प्रकाशित अध्ययनमा उल्लेख गरिएको छ।
अध्ययनका प्रमुख लेखक तथा ओसाका विश्वविद्यालयको सूचना विज्ञान तथा प्रविधि संकायका स्नातकोत्तर विद्यार्थी र्योतारो हाडाले भने, “स्मार्टफोनलाई वायरलेस चार्जरमा राखेजस्तै विद्युतीय गाडी पार्क गरेकै भरमा चार्ज हुने भविष्य निर्माण गर्न यो अनुसन्धानले सहयोग पुर्याउने हाम्रो आशा छ।”
डिजिटल कार कीबाट लिइएको प्रविधि
लाइभसाइन्सका अनुसार अहिले विद्युतीय गाडीको चार्जिङ क्वाइललाई वायरलेस चार्जिङ प्याडसँग मिलाउने कामका लागि चुम्बकीय सेन्सर वा क्यामेरा प्रयोग गरिन्छ। अनुसन्धानकर्ताहरूका अनुसार, चुम्बकीय प्रणाली क्वाइल चार्जिङ प्याडको नजिक हुँदा बढी प्रभावकारी हुन्छ। अर्कोतर्फ, वर्षा, कम प्रकाश वा चार्जिङ प्याडमा धुलो तथा फोहोर जमेको अवस्थामा क्यामेराले सही रूपमा काम गर्न कठिन हुन्छ।
नयाँ प्रणालीमा गाडीको चार्जिङ क्वाइल वरिपरि चारवटा अल्ट्रा वाइडब्यान्ड रेडियो उपकरण जडान गरिन्छ। यी उपकरणले जमिनमा रहेको चार्जिङ प्याड वरिपरि राखिएका चारवटा एन्टेनासँग सञ्चार गर्छन्।
अल्ट्रा वाइडब्यान्ड उपकरण र एन्टेनाबीच रेडियो तरंग पुग्न लाग्ने समय मापन गर्नुका साथै गाडीका विभिन्न सेन्सरमा सिग्नल पुग्दा देखिने अत्यन्त सानो समयगत भिन्नता पत्ता लगाएर प्रणालीले चार्जिङ क्वाइलको स्थान र कोण पहिचान गर्छ।
यस्तै प्रविधि केही डिजिटल कार कीमा पनि प्रयोग हुँदै आएको छ। यसमा छोटो रेडियो सिग्नल पठाएर चालक गाडीको नजिक छ वा छैन भन्ने पत्ता लगाइन्छ। यसले भौतिक साँचो प्रयोग नगरी गाडीको ढोका खोल्न सम्भव बनाउँछ।
सानो आकारको गाडीको नमुना प्रयोग गरी प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ प्रणालीले गाडीको चार्जिङ क्वाइलको वास्तविक स्थान २.३२ मिलिमिटरको शुद्धतासम्म पहिचान गरेको थियो। त्यस्तै, गाडी कुन दिशातर्फ फर्किएको छ भन्ने कुरा ०.२५ डिग्रीको शुद्धतासम्म पत्ता लगाएको थियो।
रेडियो सिग्नलमा हुने विकृतिलाई सच्याउँदा स्थान पहिचानमा हुने त्रुटि करिब पाँच गुणाले घटेको अनुसन्धान टोलीले जनाएको छ।
यद्यपि, यो प्रणालीलाई वास्तविक वातावरणमा परीक्षण गर्न अझै बाँकी छ। अनुसन्धानकर्ताहरूले पूर्ण आकारका विद्युतीय गाडीमा र वास्तविक चार्जिङ अवस्थामै यसको परीक्षण गर्नुपर्ने बताएका छन्।