कम्पनीहरूलाई विवरण बुझाउन पुस मसान्तसम्म समय थपियो, अनलाइन प्रणालीबाट पेस गर्न आग्रह
काठमाडौं ।
कम्पनी रजिस्ट्रारको कार्यालयले कम्पनीहरूले विवरण पेस गर्ने तथा कर, शुल्क र दस्तुर दाखिला गर्ने अवधि २०८३ साल पुस मसान्तसम्म थप गरेको छ।
कार्यालयले हालै एक सूचना प्रकाशित गरी अर्थ मन्त्रालयको २०८३/०७/०९ को निर्णयबमोजिम नेपाल राजपत्र (खण्ड ७६, संख्या ४५, भाग ५) मा २०८३/०७/१६ मा प्रकाशित सूचनाअनुसार कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीहरूले आर्थिक ऐन, २०८३ को दफा ४८ बमोजिम कर, शुल्क, दस्तुर तथा जरिवाना दाखिला नगरेको अवस्थामा आर्थिक वर्ष २०८२/०८३ सम्मको कानुनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण बुझाउने अवधि थप गरिएको जनाएको हो।
कारोबार सञ्चालनलाई निरन्तरता दिन चाहने वा कम्पनी दर्ता खारेज गर्न चाहने कम्पनीहरूले यो व्यवस्था अन्तर्गत विवरण पेस गर्नुपर्ने छ। कार्यालयले यसअघि प्रकाशित सूचनाबाट पनि यसबारे जानकारी गराएको थियो।
अन्तिम समयमा मात्र विवरण तथा फाइल पेस गर्ने प्रवृत्तिले कार्यालयको अनलाइन प्रणालीमा अत्यधिक चाप पर्ने र सेवा प्रवाहमा अवरोध आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै कार्यालयले सबै सम्बन्धित कम्पनीलाई यथाशीघ्र आवश्यक विवरण अनलाइन प्रणाली सीएएमआईएस मार्फत पेस गर्न आग्रह गरेको छ। यसरी विवरण पेस गरी कानुनबमोजिम कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहासम्बन्धी सुविधाको लाभ लिन कार्यालयले अनुरोध गरेको छ।