ह्वाट्सएपले स्टाटसमै आफ्नो लोकेसन सार्वजनिक गर्न मिल्ने नयाँ सुविधा विकास गर्दै
काठमाडौं ।
ह्वाट्सएपले स्टाटसमै आफ्नो लोकेसन सार्वजनिक गर्न मिल्ने नयाँ सुविधा विकास गरिरहेको छ। हाल ह्वाट्सएपमा लोकेसन सार्वजनिक गर्न प्रयोगकर्ताले पहिले फोटो वा भिडियो छनोट गरी त्यसमा लोकेसन स्टिकर राख्नुपर्ने हुन्छ। तर, नयाँ सुविधामार्फत स्टाटस राख्ने क्रममा छुट्टै ‘लोकेसन’ विकल्प उपलब्ध हुनेछ।
यसबाट प्रयोगकर्ताले फोटो वा भिडियोबिना नै आफ्नो स्थान साझा गर्न सक्नेछन्। यो सुविधा ह्वाट्सएपको एन्ड्रोइड बिटा संस्करणमा देखिएको हो। यो हाल विकासकै चरणमा रहेकाले बिटा प्रयोगकर्ताका लागि समेत उपलब्ध भइसकेको छैन। नयाँ विकल्प छनोट गरेपछि नक्सासहितको कार्ड देखिनेछ।
उक्त कार्डमा स्थान देखाउने हरियो चिन्ह, ठाउँको नाम र पूरा ठेगाना समावेश रहनेछन्। प्रयोगकर्ताले लोकेसन प्रयोग गर्ने अनुमति दिएपछि ह्वाट्सएपले उनीहरूको हालको स्थान देखाउनेछ। त्यसपछि स्थान पुष्टि गरेर स्टाटसमा राख्न सकिनेछ। प्रयोगकर्ताले आफ्नो वास्तविक स्थानको सट्टा अनुमानित स्थान वा आफूले चाहेको अर्को स्थान पनि साझा गर्न सक्नेछन्।
स्टाटस हेर्ने अन्य प्रयोगकर्ताले उक्त लोकेसन कार्डमा थिचेर साझा गरिएको स्थान हेर्न सक्नेछन्। यो सुविधा सार्वजनिक भएपछि प्रयोगकर्तालाई फोटो वा भिडियोबिना नै आफ्नो स्थान स्टाटसमार्फत साझा गर्न सहज हुनेछ।