Google

अब गुगलको नयाँ सर्च अपग्रेडले जटिल प्रश्नको अझ राम्रो उत्तर दिने

अब गुगलको नयाँ सर्च अपग्रेडले जटिल प्रश्नको अझ राम्रो उत्तर दिने
Global IME Bank

गुगल सर्च अब जटिल प्रश्नहरू बुझ्नमा अझ सक्षम हुँदै गएको छ जसमा धेरै भाग भएका प्रश्न, अत्यन्त विशिष्ट अनुरोध वा बुझ्न गाह्रो पर्ने टाइपिङ त्रुटि भएका प्रश्न पनि पर्छन्। यी सुधार कम्पनीले हालै सार्वजनिक गरेको नयाँ जेमिनी ४ हाइड्रोजन मोडेलमार्फत आएका हुन्, जसलाई गुगलले आफ्नो “सर्चका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो मोडेल सुधार” भएको दाबी गरेको छ।

गुगलका अग्रणी मोडेल जेमिनी ४ कार्बन र जेमिनी ४ आर्गन कठिन समस्याका लागि गहिरो तर्कमा उत्कृष्ट छन् भने हाइड्रोजनलाई विभिन्न एजेन्टिक वर्कफ्लोमा छिटो काम गर्न डिजाइन गरिएको हो। एजेन्टिक वर्कफ्लो भन्नाले एआईले आफैं धेरै चरणका काम पूरा गर्ने कार्यलाई जनाउने कम्पनीले घोषणामा स्पष्ट पारेको छ।

सधैं सबैभन्दा शक्तिशाली मोडेल नै चाहिँदैन — कहिलेकाहीं छिटो, सस्तो र ठीकठाकै बुद्धिमान् मोडेलले पनि काम चल्छ भन्ने यो मोडेल सार्वजनिक गर्नुको पछाडिको उद्देश्य रहेको कम्पनीले जनाएको छ।

गुगलका अनुसार हाइड्रोजनले आफ्नो अघिल्लो छिटो मोडेल जेमिनी ३.८ फ्लासभन्दा २.५ गुणा छिटो काम सम्पन्न गर्छ। यति मात्र होइन, यो पर्याप्त बुद्धिमान् पनि छ। आर्टिफिसियल एनालिसिस इन्टेलिजेन्स इन्डेक्स नामक एउटा व्यापक बौद्धिकता बेन्चमार्कमा यसको डिफल्ट उच्च थिंकिङ स्तरमा यसले अझ शक्तिशाली जेमिनी ४ आर्गनलाई समेत पछि पारेको छ।

सर्चमा हाइड्रोजनले धेरै सुधार ल्याएको छ। यसमा प्रयोगकर्ताको मनसाय अझ राम्ररी बुझ्ने, थप उपयोगी लिंक र दृश्यात्मक उत्तर दिने क्षमता, र गुगलको एआई मोडले समर्थन गर्ने विभिन्न भाषामा अझ राम्रा उत्तर दिने सुधार पर्छन्।

मनसायका सन्दर्भमा, गुगलका अनुसार हाइड्रोजनले अझ सूक्ष्म र जटिल प्रश्नहरू छिटो ह्यान्डल गर्न सक्छ। यसको अर्थ मानिसहरूले आफ्नो स्वाभाविक सोचाइको क्रममै प्रश्न सोध्न सक्छन्, जसमा धेरै भाग भएका वा अत्यन्त विशिष्ट अनुरोध समावेश भएका प्रश्न पनि पर्छन्। गुगलका अनुसार हाइड्रोजन बुझ्न गाह्रो टाइपिङ त्रुटिहरू सम्हाल्नमा पनि अझ राम्रो छ। यी सुधार तथा निर्देशन पालना गर्ने र सही टुल प्रयोग गर्ने अझ राम्रो क्षमताका कारण हाइड्रोजनले प्रयोगकर्ताको प्रश्नको हरेक भागलाई अझ सटीक रूपमा सम्बोधन गर्न सक्छ।

यसको उन्नत तर्क क्षमताले सर्चको फ्यान-आउट प्रविधिलाई पनि सुधार गर्छ, जसले एक प्रयोगकर्ताको एउटै प्रम्प्टलाई धेरै उप-प्रश्नमा विभाजन गर्छ। यसले मानिसहरूलाई प्रश्नसँग सम्बन्धित त्यस्ता वेबसाइट भेट्टाउन मद्दत गर्छ, जुन उनीहरूले अन्यथा छुटाउन सक्ने ब्लग पोस्टले उल्लेख गरेको छ।

सर्चमा हाइड्रोजनको थपिएसँगै एआई मोडमा प्रयोगकर्ताका प्रश्नका दृश्यात्मक उत्तरका रूपमा थप तस्बिर, संरचित उत्तर, तुलनात्मक तालिका र कस्टम टुल देखिनेछन्।

गुगलका अनुसार हाइड्रोजनले कोड लेख्ने, परीक्षण चलाउने वा कोडमा गरिएका परिवर्तन जाँच्ने जस्ता दैनिक कामहरू एक्लै गर्न सक्छ, वा धेरै मोडेल मिलाइएका वर्कफ्लोमा कार्बन र आर्गनसँग जोडेर प्रयोग गर्न सकिन्छ।

यो मोडेलले चार थिंकिङ स्तर प्रदान गर्छ: न्यून, मध्यम, उच्च (डिफल्ट) र नयाँ अतिरिक्त-उच्च स्तर (“एक्सहाई”), जुन सबै कम आउटपुट टोकनसहित छिटो काम सम्पन्न गर्न डिजाइन गरिएका हुन्।

गहिरो अनुसन्धान, डाटा विश्लेषण र व्यापक कोडबेस नेभिगेसन जस्ता बहुचरणीय कामहरूमा हाइड्रोजन एजेन्ट एरेनाको बेन्चमार्कमा पाँचौं स्थानमा रहेको कम्पनीले जनाएको छ।

सर्चबाहेक जेमिनी ४ हाइड्रोजन गुगलको एआई स्टुडियो, जेमिनी एपीआई, जेमिनी एप र गुगलको एन्टिग्राभिटी डेभलपमेन्ट प्लेटफर्मका सशुल्क एआई प्रो र अल्ट्रा सदस्यहरूका सबै तहमा आउँदै छ। गुगलका अनुसार हाइड्रोजन अपडेट विश्वभरका सबै सर्च प्रयोगकर्तासमक्ष क्रमशः पुर्‍याइँदै छ।

Sajilo Visa
easy care