प्लेस्टेसन ५ को कुल बिक्री १० करोड युनिट नाघ्यो, जीटीए-६ सार्वजनिक हुनुअघि माग ह्वात्तै बढ्यो
काठमाडौं ।
जापानी उपभोक्ता इलेक्ट्रोनिक्स निर्माता सोनीको ‘प्लेस्टेसन ५’ (PlayStation 5) को बिक्रीले १० करोड युनिटको आँकडा पार गरेको छ। सन् २०२० को नोभेम्बरमा बजारमा ल्याइएको यो गेमिङ कन्सोलले यो कोसेढुङ्गा पार गर्न छ वर्ष लगाएको छ। नोभेम्बर १९ मा ‘ग्रान्ड थेफ्ट अटो ६ (जीटीए-६)’ सार्वजनिक हुने भएपछि पिएस ५ को माग ह्वात्तै बढेको छ। सोनीका अनुसार, ‘प्लेस्टेसन स्टोर’ को सुरुवात भएयता ‘जीटीए ६’ सबैभन्दा बढी ‘प्रि-अर्डर’ गरिएको खेल बनेको छ।
सोनीले आफ्नो वेबसाइटमा जनाए अनुसार, नोभेम्बर १० मा पिएस ५ ले बिक्रीको यो महत्त्वपूर्ण सीमा पार गरेको हो। यसअघिको संस्करण, पिएस ४ ले सन् २०१९ को जुन महिनासम्ममा १० करोड युनिट बिक्री गरेको थियो र यसको कुल बिक्री पछि गएर ११ करोड ७० लाख युनिटभन्दा बढी पुगेको थियो। पिएस ५ को बिक्री सन् १९९४ मा सार्वजनिक भएको पहिलो ‘प्लेस्टेसन’ को बिक्री आँकडा (१० करोड २० लाख युनिटभन्दा बढी) को नजिक पुग्दैछ।
यद्यपि, सोनीको सबैभन्दा बढी बिक्री हुने गेमिङ कन्सोल भने ‘पिएस २’ नै हो, जसका १६ करोड भन्दा बढी युनिटहरू बिक्री भएका छन्।
पिएस ५ को बिक्रीमा देखिएको यो वृद्धि ‘ग्रान्ड थेफ्ट अटो ६ (जीटीए ६)’ को आसन्न सार्वजनिक मितिसँग जोडिएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको नतिजा सार्वजनिक गर्दै सोनीले सेप्टेम्बर ३० सम्ममा करिब ९ करोड ७९ लाख (९७.९ मिलियन) पिएस ५ युनिटहरू बिक्री भइसकेको जनाएको थियो। त्यसयता थप २१ लाख (२.१ मिलियन) भन्दा बढी युनिटहरू बिक्री भएका छन्। सोनीले यो पनि पुष्टि गरेको छ कि ‘प्लेस्टेसन स्टोर’ सुरु भएयता ‘जीटीए ६’ ले सबैभन्दा धेरै प्रि-अर्डरको रेकर्ड कायम गरेको छ। नोभेम्बर १९ मा सार्वजनिक हुनुअघि, धेरैले प्रतीक्षा गरिरहेको यो खेललाई पिएस ५ र एक्सबक्स सिरिज एस/एक्स दुवैमा ‘प्रि-लोड’ गर्न सकिने व्यवस्था मिलाइएको छ।
यसैबीच, सोनीले पिएस५ को बिक्रीमा केही कमी आएको पनि उल्लेख गरेको छ। यसको कारण यो गेमिङ कन्सोल अब केही पुरानो भइसकेको हुनु हो। सोनीले अब अर्को पुस्ताको प्लेस्टेसन कन्सोल ल्याउने योजना बनाएको छ; सम्भवतः आगामी दुई वर्षभित्र ‘पिएस ६’ सार्वजनिक हुन सक्छ। मेमोरी र अन्य आवश्यक पुर्जाहरूको अभावले पनि नयाँ गेमिङ कन्सोलहरूको बजार प्रवेशमा असर पारेको छ।