टिकटकमा ‘र्याबिट होल’ सिर्जना गर्ने भिडियो फिडले डिजिटल नियम उल्लंघन गरेको ईयूको आरोप
काठमाडौं ।
युरोपेली संघ (ईयू) ले टिकटकको एल्गोरिदमले प्रयोगकर्तालाई लगातार व्यक्तिगत रुचिअनुसारका भिडियो सिफारिस गर्ने र तीमध्ये केहीले मानसिक स्वास्थ्य तथा शरीरप्रतिको धारणामा नकारात्मक असर पार्न सक्ने भन्दै डिजिटल नियम उल्लंघन गरेको आरोप लगाएको छ।
२७ सदस्य राष्ट्र रहेको ईयूको कार्यकारी निकायले शुक्रबार टिकटकलाई आफ्नो ‘फर यू’ फिडको डिजाइन परिवर्तन गर्न र प्रयोगकर्तालाई निश्चित प्रकारका सामग्री नहेर्ने विकल्पमा बढी नियन्त्रण दिनुपर्ने बताएको छ।
नियामकहरूका अनुसार टिकटकले आफ्नो सिफारिस प्रणालीले मानिसलाई उनीहरूको कल्याणमा असर पार्ने ‘र्याबिट होल’ अर्थात् एउटै प्रकृतिका सामग्रीको निरन्तर प्रवाहमा फसाउन सक्ने जोखिमको मूल्यांकन गर्न सकेको छैन। प्रयोगकर्ताले पहिले हेरेका वा मन पराएका भिडियोका आधारमा उस्तै प्रकृतिका भिडियो सिफारिस भइरहन्छन्। यसमा तौल घटाउने वा मानसिक स्वास्थ्यसम्बन्धी समस्याका भिडियोसमेत पर्न सक्छन्, जसले प्रयोगकर्तामा नकारात्मक प्रभाव पार्न सक्छन्।
टिकटकले भने युरोपेली आयोगका निष्कर्षहरू ‘मूलभूत रूपमा गलत’ रहेको र आफ्नो प्लेटफर्मको संरचना तथा प्रयोगकर्ताको सुरक्षाप्रतिको प्रतिबद्धतालाई गलत रूपमा प्रस्तुत गरेको जनाएको छ।
कम्पनीले एक विज्ञप्तिमा भनेको छ, “प्रयोगकर्तालाई आफ्नो सामग्री अनुभवमाथि प्रत्यक्ष र सहज नियन्त्रण दिने क्रममा हामीले आफ्नो समुदायको सुरक्षा गर्न राम्रो काम गर्दै आएका छौँ।”
एपीन्युजका अनुसार युरोपेली आयोगले अन्तिम निर्णय जारी गर्नुअघि कम्पनीले आफ्नो पक्ष राख्ने अवसर पाउनेछ। आयोगको अन्तिम निर्णयमा टिकटकको कुल वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।
प्रविधि क्षेत्रको सार्वभौमिकता हेर्ने युरोपेली आयोगकी कार्यकारी उपाध्यक्ष हेन्ना भिर्कुनेनले विज्ञप्तिमा भनेकी छन्, “प्रयोगकर्ताले टिकटकमा भिडियो स्क्रोल गर्ने वा कुनै भिडियो मन पराउनेबित्तिकै एल्गोरिदमले त्यस्तै थप भिडियो देखाउँछ। यसले प्रयोगकर्तालाई यस्तो सामग्रीको निरन्तर प्रवाहमा पुर्याउँछ, जहाँबाट बाहिर निस्कन सजिलो हुँदैन।”
उनले भनिन्, “आज सार्वजनिक गरिएका प्रारम्भिक निष्कर्षले प्रयोगकर्ताको कल्याण, विशेषगरी बालबालिकाको सुरक्षाका लागि टिकटकले आफ्नो प्रयास अझ बढाउनुपर्ने देखाएका छन्।”
टिकटकले ‘र्याबिट होल’ प्रभाव कम गर्न ‘नट इन्ट्रेस्टेड’ अर्थात् रुचि छैन भन्ने बटनजस्ता केही उपाय थपेको छ। तर, हानिकारक सामग्री सिफारिस हुने क्रम घटाउन ती उपाय प्रभावकारी नभएको आयोगले जनाएको छ।
युरोपेली नियामकहरूले टिकटकको ‘फर यू’ फिडमा विभिन्न परिवर्तन गर्न चाहेका छन्। यसमा प्रयोगकर्ताको स्पष्ट रुचिलाई बढी प्राथमिकता दिने, सामग्री सिफारिस गर्दा भिडियो हेरेको समयलाई आधार बनाउने अभ्यास रोक्ने र प्रयोगकर्ताका नियन्त्रणसम्बन्धी विकल्पलाई अझ सहज रूपमा उपलब्ध गराउने विषय समावेश छन्।
ईयूको डिजिटल सेवा ऐन (डिजिटल सर्भिसेज एक्ट) अन्तर्गत टिकटकमाथि नियामकहरूले गरेको यो पछिल्लो कारबाही हो। यो ऐनले प्रविधि कम्पनीहरूलाई विभिन्न नियम पालना गर्न बाध्य बनाउँछ। नियम उल्लंघन गरेमा उनीहरूले ठूलो आर्थिक जरिवाना तिर्नुपर्ने हुन सक्छ।
टिकटकले डिजिटल सेवा ऐन उल्लंघन गरेको छ वा छैन भन्ने विषयमा युरोपेली आयोगले दुई वर्षभन्दा अघि अनुसन्धान सुरु गरेको थियो। यस वर्ष आयोगले टिकटकविरुद्ध दुईवटा अन्य प्रारम्भिक निष्कर्ष पनि सार्वजनिक गरिसकेको छ।
पहिलोमा, बालबालिकालाई बाध्यकारी रूपमा एप प्रयोग गर्न प्रेरित गर्ने ‘लत लाग्ने डिजाइन’ का सुविधामार्फत नियम उल्लंघन गरेको आरोप लगाइएको थियो। दोस्रोमा, बालबालिकाको गोपनीयताको अधिकार पर्याप्त रूपमा सुरक्षित गर्न नसकेको आरोप लगाइएको थियो।