काठमाडौं ।
एप्पल इंकले सन् २०२६ सेप्टेम्बर २६ मा समाप्त भएको तीन महिनाको अवधिमा अपेक्षाभन्दा बढी आम्दानी गरेको छ। सेप्टेम्बर त्रैमासिकमा आईफोनको सोचे भन्दा बढी बिक्री भएपछि आम्दानीमा उल्लेख्य वृद्धि भएको हो।
सकारात्मक नतिजाले नाफाको मार्जिनमा परेको दबाबका कारण लगानीकर्ताले प्रतिक्रिया जनाएका छन्। सोमबार बजार बन्द भएपछि कम्पनीको सेयर मूल्य करिब ३ प्रतिशतले घटेको थियो।
कम्पनीको आम्दानी १२ प्रतिशतले बढेर ११४ अर्ब ५० करोड अमेरिकी डलर (१०२ अर्ब १० करोड युरो) पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको आम्दानी १०२ अर्ब ५० करोड डलर (९१ अर्ब ४० करोड युरो) थियो।
क्यालिफोर्नियाको कुपर्टिनोस्थित कम्पनीले जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा ३० अर्ब ७१ करोड डलर (२७ अर्ब ४० करोड युरो) खुद नाफा कमाएको छ। यस अवधिमा प्रतिकित्ता आम्दानी २.१० डलर रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २७ अर्ब ४७ करोड डलर (२४ अर्ब ५० करोड युरो) नाफा कमाएको थियो भने प्रतिकित्ता आम्दानी १.८५ थियो।
फ्याक्टसेटले गरेको सर्वेक्षणअनुसार विश्लेषकहरूले कम्पनीको प्रतिकित्ता आम्दानी १.९९ र कुल आम्दानी ११३ अर्ब ४० करोड डलर (१०१ अर्ब १० करोड युरो) हुने अनुमान गरेका थिए। तर कम्पनीले दुवै अनुमानलाई उछिनेको छ।
भन्सार शुल्क फिर्ताले कम्पनीको प्रतिकित्ता आम्दानीमा ०.०५ डलर थप गरेको थियो। यसले कम्पनीको कुल नाफा मार्जिन पनि करिब एक प्रतिशत विन्दुले बढाएर ४७.९ प्रतिशत पु¥याएको छ।
टेलिग्राफका अनुसार, यस त्रैमासिकको विवरणमा प्रिमियम आईफोन १८ प्रो मोडलको बिक्री सुरु भएको पहिलो केही दिनको आम्दानी मात्रै समावेश छ। एप्पलको नयाँ फोल्डेबल फोन आईफोन डुओ भने चालु त्रैमासिकदेखि बिक्रीमा आएको हो। त्यसैले यसको बिक्रीबाट प्राप्त आम्दानी यसपटकको वित्तीय विवरणमा समावेश छैन।
कम्पनीको आईफोन बिक्रीबाट हुने आम्दानी १७.५ प्रतिशतले बढेर ५७ अर्ब ६० करोड डलर (५१ अर्ब ४० करोड युरो) पुगेको छ। त्यस्तै, म्याक कम्प्युटरको बिक्री करिब २४ प्रतिशतले बढेको छ। तर आईप्याडको आम्दानी १०.४ प्रतिशतले घटेको छ। पहिरनयोग्य उपकरण, घरेलु उपकरण तथा अन्य सामग्रीको बिक्रीबाट हुने आम्दानी पनि ७.९ प्रतिशतले घटेको कम्पनीले जनाएको छ।
सेप्टेम्बर १ मा टिम कुकको स्थानमा जोन टर्नसले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हालेपछि एप्पलले सार्वजनिक गरेको यो पहिलो विवरण हो।
टर्नसले ग्रेटर चाइना क्षेत्रमा कम्पनीको व्यवसाय सुधार हुदै गरेको बताएका छन्। उक्त क्षेत्रमा त्रैमासिक अवधिमा आम्दानी २१ प्रतिशत र समग्र आर्थिक वर्षमा २८ प्रतिशतले वृद्धि भएको छ। उनका अनुसार आईफोन र म्याकको बिक्रीले त्रैमासिक आम्दानी बढाउन मुख्य भूमिका खेलेको छ।
इनभेस्टिङ डटकमका वरिष्ठ विश्लेषक जेसी कोहेनले मार्केटवाचमा प्रस्तुत गरिएको आफ्नो विश्लेषणमा चीनका साथै पहिरन तथा घरेलु उपकरणको बिक्रीबाट प्राप्त आम्दानी विश्लेषकहरूले गरेको अनुमानभन्दा कम रहेको बताएका छन्।
प्रकाशित: १९ कार्तिक २०८३, बिहीबार