काठमाडौं ।
नेपालमा मोबाइल इन्टरनेट प्रयोगको स्वरूप पछिल्ला पाँच वर्षमा निकै बदलिएको छ। कुनै समय मोबाइल इन्टरनेटको प्रमुख माध्यम रहेको थ्रीजी सेवा अहिले लगभग विस्थापित हुने अवस्थामा पुगेको छ। यसको ठाउँ फोरजी सेवाले लिँदै गएको तथ्याङ्कले देखाउँछ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यसबारे प्रस्ट पारिएको छ।
प्रतिवेदन अनुसार जनसङ्ख्याको आधारमा मोबाइल ब्रोडब्यान्ड सेवाको अवस्था हेर्दा आर्थिक वर्ष २०७८/७९ मा ३४.४५ प्रतिशत जनसङ्ख्यामा थ्रीजी सेवाको पहुँच थियो।
आर्थिक वर्ष २०८२/८३ सम्म आइपुग्दा यो घटेर २.५७ प्रतिशतमा सीमित भएको छ। यही अवधिमा फोरजी सेवाको पहुँच भने ६३.६३ प्रतिशतबाट बढेर ९२.५२ प्रतिशत पुगेको छ।
पाँच वर्षअघिको अवस्थासँग तुलना गर्दा मोबाइल इन्टरनेटमा फोरजी को विस्तार कति तीव्र भएको छ भन्ने यसले देखाउँछ।
आर्थिक वर्ष २०७८/७९ मा कुल मोबाइल ब्रोडब्यान्डको सूचक ९८.०८ प्रतिशत थियो। त्यसबेला फोरजीको पहुँच ६३.६३ प्रतिशत र थ्रीजीको ३४.४५ प्रतिशत थियो। अर्थात् मोबाइल ब्रोडब्यान्डमा फोरजी अगाडि भए पनि थ्रीजी प्रयोगको हिस्सा पनि ठूलो थियो।
एक वर्षपछि २०७९/८० मा थ्रीजीको सूचक घटेर २६.५१ प्रतिशतमा झर्यो। फोरजी भने बढेर ६९.०४ प्रतिशत पुग्यो। यो वर्ष कुल मोबाइल ब्रोडब्यान्डको सूचक पनि अघिल्लो वर्षको ९८.०८ प्रतिशतबाट घटेर ९५.५५ प्रतिशतमा सीमित भयो।
आर्थिक वर्ष २०८०/८१ मा फोरजीको विस्तार थप तीव्र देखियो। उक्त वर्ष फोरजीको सूचक ७६.२३ प्रतिशत पुग्दा थ्रीजीको २५.७८ प्रतिशतमा झरेको थियो। कुल मोबाइल ब्रोडब्यान्डको सूचक भने बढेर १०२.०१ प्रतिशत पुग्यो। पाँच वर्षको तथ्याङ्कमा यो सबैभन्दा उच्च हो।
तर २०८१/८२ मा मोबाइल ब्रोडब्यान्डको समग्र सूचक घटेर ९०.८६ प्रतिशतमा झर्यो। कुल सूचक घटे पनि फोरजीको विस्तार भने रोकिएन। यस वर्ष फोरजीको पहुँच ८७.९० प्रतिशत पुग्यो। अघिल्लो वर्ष ७६.२३ प्रतिशत रहेको यो सूचक एकै वर्षमा ११.६७ प्रतिशत विन्दुले बढेको हो।
यसको ठीक उल्टो थ्रीजीको सूचक भने २५.७८ प्रतिशतबाट एकै वर्षमा घटेर २.९६ प्रतिशतमा झर्यो। पाँच वर्षको अवधिमा थ्रीजी मा देखिएको यो सबैभन्दा ठूलो वार्षिक गिरावट हो।
आर्थिक वर्ष २०८२/८३ मा पनि यही प्रवृत्ति कायम रह्यो। फोरजीको सूचक बढेर ९२.५२ प्रतिशत पुग्दा थ्रीजी थप घटेर २.५७ प्रतिशतमा सीमित भयो। कुल मोबाइल ब्रोडब्यान्डको सूचक भने अघिल्लो वर्षको ९०.८६ प्रतिशतबाट बढेर ९५.०९ प्रतिशत पुगेको छ।
मोबाइल इन्टरनेटको बजारमा फोरजी स्थापित
पछिल्ला पाँच वर्षको तथ्याङ्कले थ्रीजीबाट फोरजी तर्फ प्रयोगकर्ताको आकर्षण र सेवाको विस्तार तीव्र भएको देखाउँछ। २०७८/७९ देखि २०८२/८३ सम्म आइपुग्दा थ्रीजी को सूचक ३१.८८ प्रतिशत विन्दुले घटेको छ भने फोरजी को २८.८९ प्रतिशत विन्दुले बढेको छ।
विशेषगरी २०८०/८१ पछि थ्रीजीको सूचकमा आएको ठूलो गिरावटले मोबाइल इन्टरनेटको बजारमा प्रविधिगत परिवर्तन तीव्र भएको देखाउँछ। पछिल्लो दुई वर्षमा मात्रै थ्रीजी को सूचक २५.७८ प्रतिशतबाट २.५७ प्रतिशतमा झरेको छ। उता फोरजी भने ७६.२३ प्रतिशतबाट बढेर ९२.५२ प्रतिशत पुगेको छ। तर कुल मोबाइल ब्रोडब्यान्डको सूचकमा भने निरन्तर वृद्धि देखिँदैन।
२०७८/७९ मा ९८.०८ प्रतिशत रहेको यो सूचक २०७९/८० मा घटेको थियो। २०८०/८१ मा १०२.०१ प्रतिशत पुगेपछि २०८१/८२ मा फेरि ९०.८६ प्रतिशतमा झरेको थियो। पछिल्लो वर्ष केही सुधार भएर ९५.०९ प्रतिशत पुगेको छ।
प्रकाशित: १९ कार्तिक २०८३, बिहीबार