गत आर्थिक वर्षमा भ्वाइस टेलिफोन सेवाको घनत्व १०४.१६ र ब्रोडब्याण्ड सेवाको घनत्व १४८.६४ प्रतिशत

  • Technology Khabar | १६ कार्तिक २०८३, सोमबार
गत आर्थिक वर्षमा भ्वाइस टेलिफोन सेवाको घनत्व १०४.१६ र ब्रोडब्याण्ड सेवाको घनत्व १४८.६४ प्रतिशत

काठमाडौं ।

आर्थिक वर्ष २०८२/८३ मा जनसंख्याको आधारमा भ्वाइस टेलिफोन सेवाको घनत्व १०४.१६ प्रतिशत पुगेको छ भने ब्रोडव्याण्ड सेवाको घनत्व १४८.६४ प्रतिशत रहेको छ।

यसमध्ये फिक्स्ड ब्रोडव्याण्ड सेवाको घनत्व ५३.५५ प्रतिशत, थ्रीजी को घनत्व २.५७ प्रतिशत र फोरजी को घनत्व ९२.५२ प्रतिशत गरी मोबाइल ब्रोडव्याण्डको कुल घनत्व ९५.०९ प्रतिशत पुगेको छ।

यो आँकडा हालै प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

दूरसञ्चार सेवाको बजारको हिस्सालाई राजस्वको आधारमा हेर्दा आर्थिक वर्ष २०७७/७८ मा भ्वाइस सेवाको बजार हिस्सा ८२.१६ प्रतिशत र इन्टरनेट (नेटवर्क सेवा प्रदायक समेत) सेवा प्रदायकको बजार हिस्सा १७.८४ प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा प्राप्त आर्थिक वर्ष २०८१/८२ को विवरण अनुसार भ्वाइस सेवाको बजार हिस्सा ७३.७९ प्रतिशत र इन्टरनेट (नेटवर्क सेवा प्रदायक समेत) सेवा प्रदायकको बजार हिस्सा २६.२१ प्रतिशत पुगेको छ।

दूरसञ्चार सेवाको बजारको हिस्सालाई प्रमुख सेवा प्रदायकको राजस्व को आधारमा हेर्दा आर्थिक वर्ष २०७७/७८ मा भ्वाइस सेवाको राजश्वमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ४६.८७ प्रतिशत र एनसेल आजियटा लिमिटेडको ५३.१२ प्रतिशत बजार हिस्सा रहेकोमा गत आर्थिक वर्षमा प्राप्त आर्थिक वर्ष २०८१/८२ को विवरण अनुसार भ्वाइस सेवाको राजश्वमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ५०.८१ प्रतिशत र एनसेल आजियटा लिमिटेडको ४९.१९ प्रतिशत बजार हिस्सा रहेको छ।

आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले इन्टरनेट (इमेल सहित) सेवा सञ्चालनको लागि  एउटा र आधारभूत दूरसञ्चार सेवाको एउटा गरी दुई वटा नयाँ अनुमतिपत्र जारी गरेको छ।

यस आर्थिक वर्षमा विभिन्न सेवाका १५ वटा (इन्टर्नेट इमेल सहित – ८, नेटवर्क सेवा – २, ग्रामीण इन्टरनेट सेवा प्रदायक- १, भिस्याट प्रयोगकर्ताको अनुमतिपत्र – २, आधारभूत दूरसञ्चार सेवा- १ र ग्रामीण भिस्याट प्रयोगकर्ता- १) अनुमतिपत्र खारेज गरिएको छ भने कुल ११ वटा (नेटवर्क सेवा- १, इन्टरनेट (इमेल सहित)- ९, भिस्याट प्रयोगकर्ता – १) अनुमतिपत्र नवीकरण गरिएको छ।

यस्तै दूरसञ्चार उपकरणहरूको स्तरीकरण तथा गुणस्तर व्यवस्थापन सम्बन्धमा टाइप अप्रुभलको प्रमाणपत्रहरु जारी भएको छ।

प्राधिकरणबाट दूरसञ्चार सेवा संचालनको लागि अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुले अनुमतिपत्रका शर्तहरु बमोजिम कार्य गरे/नगरेको सम्बन्धमा आर्थिक वर्ष २०८२/८३ मा २९ वटा इन्टरनेट सेवा प्रदायक, तीनवटा नेटवर्क सेवा प्रदायक र एक भिस्याट सेवा प्रयोगकर्ता गरी कूल ३३ वटा अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरु तथा उजुरीका आधारमा पाँचवटा सेवा प्रदायकहरुको अनुगमन गरी नियमानुसार कारबाहीको प्रक्रिया अघि बढाइएको छ।

आर्थिक वर्ष २०८२/८३ मा दूरसञ्चार सेवाको लागि आवश्यक उपकरण आयात वापतको भुक्तानीका लागि अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरूलाई रु.४ अर्ब ८६ करोड २९ लाख ५६ हजार ३४ रुपैयाँ ३९ पैसा र व्याण्डविथ भुक्तानी वापत रु.४ अर्ब १४ करोड १० हजार ५७६ रुपैयाँ २६ पैसा गरी जम्मा रु. ९ अर्ब २९ लाख ६६ हजार ६ सय १० रुपैयाँ ६५ पैसा बराबरको विदेशी मुद्रा भुक्तानीका लागि सिफारिस गरिएको छ।

आर्थिक वर्ष २०८२/८३ मा दूरसञ्चार सेवासँग सम्बन्धित गुनासोहरुमध्ये इन्टरनेट सेवाको समस्यासँग सम्बन्धित गुनासोको संख्या ३३९ रहेको छ भने भ्वाइस सेवाको समस्यासँग सम्बन्धित गुनासोको संख्या ९६ रहेको छ।उक्त गुनासोहरु सम्वन्धित सेवा प्रदायकहरुसँग समन्वय गरी तोकिएको समय सिमाभित्र समाधान गरिएको छ।

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने महामार्गमा ब्याकबोन नेटवर्क निर्माण गर्ने कार्य अन्तर्गत हालसम्म २२४८.४४ कि.मि. अप्टिकल फाइबर विछ्याउने कार्य सम्पन्न भएको छ। यस कार्यमा आर्थिक वर्ष २०८२/८३ मा २२०.९९४ कि.मि. थप अप्टिकल फाइबर विस्तार गर्ने कार्य सम्पन्न भएको छ।

प्रकाशित: १६ कार्तिक २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार