बाइनान्समार्फत दुई अर्बभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा एक जना पक्राऊ

  • Technology Khabar | १३ कार्तिक २०८३, शुक्रबार
बाइनान्समार्फत दुई अर्बभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा एक जना पक्राऊ

काठमाडौं ।

बाइनान्समार्फत दुई अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी (यूएसडीटी) कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राऊ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीका अनुसार पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनील कुमार यादव रहेका छन्।

नेपाल राष्ट्र बैंकको नीति तथा प्रचलित कानुनविपरीत विभिन्न विद्युतीय माध्यम र अनलाइन बेटिङ एपमार्फत सट्टेबाजी खेल्ने तथा खेलाउने क्रममा अवैध रूपमा क्रिप्टोकरेन्सीको ठूलो कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

कार्यालयबाट खटिएको प्रहरी टोलीले सूक्ष्म निगरानी तथा प्राविधिक विश्लेषण गर्दा यादवको बाइनान्स आईडी मार्फत १ करोड ६९ लाखभन्दा बढी यूएसडीटी कारोबार भएको फेला पारेको जनाएको छ। प्रहरीका अनुसार उक्त कारोबार नेपाली रुपैयाँमा दुई अर्बभन्दा बढी बराबरको छ।

यादवलाई पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ अन्तर्गत दफा १२५ (जुवा खेल्ने वा सट्टेबाजी गर्ने) तथा सोही संहिताको दफा २६२ (क) अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।

पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ कार्तिक २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार