अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

  • Technology Khabar | ११ कार्तिक २०८३, बुधबार
अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

काठमाडौं ।

अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी सङ्घीय निर्वाचन आयोग (एफइसी) को विद्युतीय फाइलिङ प्रणालीमा ह्याकरहरूले अवरोध पुर्‍याएका छन्।

रोयटर्सका अनुसार यसका कारण राजनीतिक दल तथा समितिहरूलाई चुनावी खर्चको अनिवार्य विवरण बुझाउन समस्या भएको छ।

आयोगले प्रणालीमा अनधिकृत प्रवेशको प्रयास भएपछि अनलाइन सेवा अस्थायी रूपमा बन्द गरिएको जनाएको छ। सूचना प्रविधि कर्मचारीले सेवा पुनः सञ्चालन गर्न काम गरिरहेका छन्। अवरोधका कारण २४ घण्टा र ४८ घण्टाभित्र बुझाउनुपर्ने चुनावी खर्च विवरण दर्ता गर्न समस्या भए पनि पुराना विवरण वेबसाइटमा हेर्न सकिनेछ।

एफइसीले उम्मेदवार तथा राजनीतिक समितिको खर्च अभिलेख राख्ने भए पनि निर्वाचन सञ्चालन गर्दैन। त्यसैले यो घटनाले मतदाताको मतदान गर्ने क्षमतामा असर पर्ने अपेक्षा गरिएको छैन।

राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले कङ्ग्रेसमा बहुमत कायम राख्न सक्ने वा नसक्ने निर्धारण गर्ने निर्वाचनअघि साइबर घटना भएको हो। ट्रम्पले निर्वाचन निष्पक्ष भए परिणाम स्वीकार गर्ने बताउँदै आवश्यक परे राष्ट्रपतीय निषेधाधिकार प्रयोग गर्न सक्ने उल्लेख गरेका छन्।

उनले मतदाता ठगीसम्बन्धी सूचना दिएर दोषीलाई पक्राउ तथा सजाय दिलाउन सहयोग गर्नेलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा पनि गरेका थिए।

निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ र सिनेटका करिब एकतिहाइ सिटका लागि प्रतिस्पर्धा हुँदैछ। सीबीएस न्युजको सर्वेक्षणले डेमोक्रेटहरूले प्रतिनिधिसभामा २२९ सिट जित्न सक्ने अनुमान गरेको छ।

अक्टोबर २१ देखि २३ सम्म दुई हजार ३५५ अमेरिकी वयस्कबीच गरिएको सर्वेक्षणमा मुद्रास्फीति, बढ्दो मूल्य र आर्थिक चिन्ता मतदाताका प्रमुख मुद्दा देखिएका छन्। डेमोक्रेट मतदातामा मतदानप्रतिको प्रतिबद्धता बढी देखिएकाले सहभागिताले निर्वाचन परिणाममा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने सर्वेक्षणले सङ्केत गरेको छ।–रासस

प्रकाशित: ११ कार्तिक २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार