काठमाडौं ।
इन्टरनेटका धेरैजसो भागमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ भाषामा देखिएका गम्भीर सुरक्षा कमजोरी समाधान गर्न विश्वभरका कम्पनी र सरकारहरू सक्रिय भएका छन्। यी कमजोरी सार्वजनिक भएपछि क्लाउड सेवा प्रदायकहरूले ह्याकिङ प्रयासमा वृद्धि भएको बताएका छन्।
वेबसाइट सञ्चालकहरूले पीएचपी प्रयोग भएका प्रणालीहरू सुरक्षित गर्न प्रयास गरिरहेका बेला युरोपलगायत अन्य क्षेत्रका सरकारहरूले सावधानीका रूपमा बुधबार आफ्ना वेबसाइटहरू बन्द गरेका थिए। यसै क्रममा बैंकिङ, हवाई सेवा, रेल, कर तथा सरकारी सेवाहरू टोकियोदेखि हेलसिन्कीसम्म आपत्कालीन रूपमा बन्द गरिएका थिए।
रोयटर्सका अनुसार यस घटनाले इन्टरनेट सञ्चालनमा सहयोग गर्ने दशकौँ पुराना प्रोग्रामिङ उपकरणहरूको ठूलो परीक्षा लिएको छ। साथै, थोरै मानिसले मात्रै बुझ्ने कोडमा सरकार र कम्पनीहरू कति निर्भर छन् भन्ने पनि देखाएको छ।
माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नाडेलाले बिहीबार जर्मनीमा आयोजित एक कार्यक्रममा यो घटनाबारे प्रतिक्रिया दिँदै भने, “मैले लामो समयदेखि यस्तो घटना देखेको थिइनँ।” उनले प्रणालीहरू जटिल हुँदै जाँदा पनि सुरक्षित रूपमा अद्यावधिक र मर्मत गर्न सकिने सफ्टवेयर निर्माण गर्नु कति महत्त्वपूर्ण छ भन्ने यस घटनाले देखाएको बताए।
“मलाई थाहा छ, सूचना प्रविधि र सुरक्षा क्षेत्रमा काम गर्ने सबैका लागि यो लामो दिन र लामो रात थियो,” उनले भने।
एचटीएमएल र पाइथनजस्तै पीएचपी पनि कम्प्युटिङमा प्रयोग हुने प्रोग्रामिङ भाषा हो। यसका विकासकर्ताहरूले कृत्रिम बुद्धिमताको प्रयोगबाट वर्षौँदेखि सफ्टवेयरमा रहेका सुरक्षा कमजोरी पत्ता लगाएपछि बुधबार तिनलाई समाधान गर्ने अद्यावधिक संस्करण सार्वजनिक गरेका थिए। उनीहरूले प्रयोगकर्तालाई तत्काल सफ्टवेयर अद्यावधिक गर्न आग्रह गरेका थिए।
बेल्जियमको साइबर सुरक्षा कम्पनी आइकिडो सेक्युरिटीकी सहसंस्थापक मेडेलिन लरेन्सले सुरक्षा कमजोरी समाधान गर्ने अद्यावधिक संस्करण तयार हुनुअघि नै ती कमजोरीबारेका विवरण सार्वजनिक भएको र त्यसपछि आक्रमणका प्रयासहरू देखिएको बताइन्।
“कृत्रिम बुद्धिमताको प्रयोग गरेर कमजोरीको फाइदा उठाउन सक्ने आक्रमणकारीविरुद्ध कम्पनीहरू सफ्टवेयर अद्यावधिक गर्न दौडिरहेका छन्। अहिलेको प्रतिस्पर्धा यही हो,” उनले भनिन्।
कम्पनी र सरकारहरूले सुरक्षा अद्यावधिक लागू गर्ने तथा सावधानीका रूपमा वेबसाइट बन्द गर्ने क्रम जारी राख्दा ह्याकिङ प्रयासको संख्या लाखौँ पुगेको क्लाउड सेवा प्रदायक क्लाउडफ्लेयर र अमेजनले बताएका छन्।
क्लाउडफ्लेयरका प्रमुख कार्यकारी अधिकृत म्याथ्यु प्रिन्सले बुधबार राति एक्समा लेखेका छन्, “यस विषयमा सार्वजनिक घोषणा हुनुभन्दा अघिका १० घण्टामा हाम्रो नेटवर्कमा यसको कमजोरीको फाइदा उठाउने हजारौँ प्रयास देखिएका थिए।”
उनले थप लेखेका छन्, “घोषणा भएको ४५ मिनेटभित्र यो संख्या दशौँ हजार पुग्यो, दुई घण्टाभित्र लाखौँ पुग्यो र अहिले लाखौँ प्रयास भइरहेका छन्।” अमेजनले पनि सुरक्षा कमजोरीको फाइदा उठाउने व्यापक प्रयास देखिएको जनाएको छ।
जापानका नोमुरा, मित्सुबिसी यूएफजे फाइनान्सियल ग्रुप, एएनए एयरलाइन्स र इस्ट जापान रेलवेले बिहीबार आपत्कालीन उपायस्वरूप आफ्ना केही इन्टरनेट सेवा अस्थायी रूपमा बन्द गर्ने बताएका छन्।
बियर उत्पादक कम्पनी असाही ग्रुप होल्डिङ्सले पनि केही वेबसाइट र प्रणाली अस्थायी रूपमा बन्द गरेको छ। कम्पनीले सुरक्षा जोखिमको प्रभावबारे मूल्याङ्कन गरिरहेको जनाएको छ। बीमा कम्पनी टोकियो मरीन होल्डिङ्सले आफ्नो समूहको वेबसाइट बन्द गरेको बताएको छ।
जापानको अर्थ मन्त्रालय र मौसम विज्ञान एजेन्सीले सुरक्षा उपाय लागू गर्न केही अनलाइन सेवा आंशिक रूपमा बन्द गरेका छन्। राष्ट्रिय कर एजेन्सीले पनि आफ्नो सेवा अस्थायी रूपमा बन्द गरेको छ।
सावधानीका रूपमा गरिएका यी बन्दले जापानमा साइबर सुरक्षाप्रति बढ्दो चिन्ता देखाउँछन्। ट्रेन्ड एआईको तथ्याङ्कअनुसार जापानमा यस वर्षको पहिलो नौ महिनामा गत वर्षभरि भन्दा बढी साइबर घटना भएका छन्।
फ्रान्सेली दूरसञ्चार कम्पनी ओरेन्जले सावधानीका रूपमा आफ्ना विभिन्न सहायक कम्पनीअन्तर्गत पीएचपी मा आधारित केही वेबसाइट र एप्लिकेसनमा पहुँच अस्थायी रूपमा बन्द गरेको जनाएको छ।
चीनका ठूला क्लाउड कम्प्युटिङ सेवा प्रदायकमध्ये एक टेन्सेन्ट क्लाउडले ग्राहकहरूलाई पीएचपी को अद्यावधिक संस्करण स्थापना गर्न आग्रह गरेको छ। तर, उसले व्यापक रूपमा वेबसाइट बन्द गर्न भने आह्वान गरेको छैन।
फिनल्यान्डको सरकारी सूचना प्रविधि सेवा प्रदायक भाल्टोरीले रातभर पीएचपी का सुरक्षा प्याचहरू स्थापना गर्ने काम जारी राखेको र सावधानीका रूपमा लगाइएका सेवा प्रतिबन्ध क्रमशः हटाउन थालेको जनाएको छ। भाल्टोरीले यसअघि एक दिनअगाडि सरकारी सार्वजनिक अनलाइन सेवाहरू बन्द गरेको थियो।
भाल्टोरीका महानिर्देशक हान्नु नौमाननले एक विज्ञप्तिमा भने, “सेवाहरू पुनः सञ्चालनमा ल्याउन केही दिन वा हप्तासम्म लाग्न सक्छ। अद्यावधिक गरेपछि पनि प्रणालीहरू सावधानीपूर्वक परीक्षण गर्न आवश्यक हुन्छ।”
भाल्टोरीले सेवा अवरुद्ध हुनुको कारण सुरक्षा कमजोरीको दुरुपयोग वा साइबर आक्रमण नभएको जनाएको छ। साथै, ती कमजोरीको सक्रिय रूपमा दुरुपयोग भइरहेको जानकारी आफूहरूसँग नभएको पनि बताएको छ।
पीएचपीका सुरक्षा कमजोरीसँग सम्बन्धित साइबर सुरक्षा जाँच गर्न एसियाका केही सरकारले बिहीबार निर्देशन दिएका छन्।
चीनको उद्योग मन्त्रालयले संस्था र प्रयोगकर्ताहरूलाई आफ्ना प्रणाली जाँच गर्न तथा पीएचपी को पछिल्लो सुरक्षित संस्करणमा अद्यावधिक गर्न आग्रह गरेको छ। मन्त्रालयले साइबर सुरक्षा निगरानी बलियो बनाउन र आवश्यकताअनुसार खाता, पासवर्ड तथा सुरक्षा कुञ्जी परिवर्तन गर्न पनि सुझाव दिएको छ।
दक्षिण कोरियाले ह्याकिङ आक्रमणको जोखिम बढ्न सक्ने भन्दै निजी क्षेत्रका लागि साइबर सुरक्षा सतर्कताको स्तर बढाएको छ र आपत्कालीन प्रतिकार्यका उपाय लागू गरेको छ।
जर्मनीको डिजिटल उद्योगसम्बन्धी संस्था बिटकमका सुरक्षा प्रमुख फेलिक्स कुलेनक्याम्पले धेरै ठूला सेवा सञ्चालकले प्रणाली अद्यावधिक गरिसकेको भए पनि जटिल सूचना प्रविधि प्रणाली भएका कम्पनी र साना संस्थालाई यसका लागि बढी समय लाग्न सक्ने बताए।
“उनीहरूले पीएचपी प्रयोग गरेर वेबसाइट चलाइरहेका हुन सक्छन्, तर त्यसको नियमित निगरानी गरिरहेका हुँदैनन्,” उनले भने। “यदि कुनै वेबसाइट पीएचपी को यस्तो पुरानो संस्करणमा आधारित छ, जसका लागि सुरक्षा अद्यावधिक उपलब्ध छैन भने सम्पूर्ण प्रणाली नै अद्यावधिक गर्नुपर्छ।”
प्रकाशित: ६ कार्तिक २०८३, शुक्रबार