काठमाडौं ।
नेपाल राष्ट्र बैंकको डिजिटल वित्तीय नवप्रवर्तन केन्द्र (डिफाइ हब) मा अहिलेसम्म डिजिटल वित्तीय सेवासम्बन्धी ७० वटा प्रस्ताव तथा नवप्रवर्तनमा संलग्न संस्थाहरूको सहभागिता दर्ता भएको छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले हालै एउटा प्रतिवेदन सार्वजनिक गर्दै तीमध्ये १४ वटा प्रस्तावलाई नियामकीय स्पष्टता प्रदान गरिएको र ११ वटा नवप्रवर्तनलाई मार्गदर्शन दिइएको प्रस्ट पारेको छ।
डिफाइ हबमा ३० वटा फिनटेक कम्पनी, तीन जना व्यक्तिगत नवप्रवर्तक, चारवटा बैंक तथा वित्तीय संस्था, आठवटा भुक्तानी सेवा सञ्चालक, तीनवटा भुक्तानी सेवा प्रदायक, र एउटा रेमिटेन्स कम्पनीको सहभागिता रहेको छ। यसमा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकबीचको एउटा साझेदारीसमेत समेटिएको छ।
प्रतिवेदनअनुसार यी नवप्रवर्तनहरू विभिन्न चरणमा सञ्चालन भइरहेका छन्। हाल आठवटा अवधारणाको चरणमा, सातवटा योजना निर्माणको चरणमा र चारवटा प्रोटोटाइप तयार गर्ने चरणमा छन्।
यसैगरी सातवटा परीक्षणका लागि तयार छन् भने २० वटा बजारमा जान तयार भइसकेका छन्। त्यस्तै, सातवटा विकासको क्रममा, तीनवटा निकट भविष्यमा योजना बनाउने चरणमा र एउटा बन्द प्रयोगकर्ता समूहमा परीक्षण भइरहेको छ।
क्षेत्रगत रूपमा हेर्दा डिफाइ हबमा भुक्तानीसम्बन्धी १२, डिजिटल ऋणसम्बन्धी ११, क्रेडिट स्कोरिङसम्बन्धी सात, इम्बेडेड फाइनान्ससम्बन्धी पाँच, ओपन बैंकिङ तथा फाइनान्ससम्बन्धी चार र रेगटेकसम्बन्धी तीनवटा नवप्रवर्तन रहेका छन्। यसबाहेक डिजिटल अनबोर्डिङ, डिजिटल पहिचान र अन्य प्रविधिमा आधारित नवप्रवर्तनहरू पनि यसमा समावेश छन्।
नयाँ तथा विकासोन्मुख वित्तीय प्रविधि र डिजिटल वित्तीय सेवाका अवधारणाहरूलाई सहज रूपमा अघि बढाउन राष्ट्र बैंकले यो संयन्त्र सञ्चालन गर्दै आएको बताएको छ।
यसले नवप्रवर्तकहरूलाई विद्यमान कानुन र नियमनबारे जानकारी गराउनुका साथै गैरबाध्यकारी नियामकीय मार्गदर्शन र नीतिगत सुधारका लागि सुझावसमेत उपलब्ध गराउँदै आएको छ।
प्रकाशित: २८ आश्विन २०८३, बुधबार