काठमाडौं ।
चलचित्र ‘बाटुलो जून’ को छायाङ्कनका क्रममा खिचिएका दृश्य निर्माण पक्षको अनुमतिबिना सामाजिक सञ्जालमा सार्वजनिक भइरहेको भन्दै सनराइज पिक्चर्स प्रालिले त्यस्ता सामग्री हटाउन आग्रह गरेको छ।
निर्माण कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै छायाङ्कनका दृश्य रेकर्ड गर्ने, सार्वजनिक गर्ने, पुनः अपलोड गर्ने वा डिजिटल माध्यमबाट प्रसारण गर्ने कार्यले चलचित्रको प्रचार योजनामा असर पार्ने र प्रतिलिपि अधिकारसमेत उल्लङ्घन हुन सक्ने जनाएको हो।
निर्माण पक्षका अनुसार छायाङ्कनका क्रममा खिचिएका दृश्य चलचित्रको कथावस्तुको गोपनीयता, प्रचारप्रसार र व्यावसायिक रणनीतिसँग सम्बन्धित हुन्छन्। त्यस्ता दृश्य निर्माण पक्षको पूर्व स्वीकृति बिना सार्वजनिक नगर्न र यसअघि सार्वजनिक गरिएका सामग्री तत्काल हटाउन कम्पनीले सम्बन्धित सबैलाई आग्रह गरेको छ।
अनधिकृत रूपमा सामग्री सार्वजनिक गर्ने कार्य जारीरहेमा उपलब्ध प्रमाणका आधारमा प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाउने निर्माण पक्षले चेतावनी दिएको छ। कम्पनीले प्रतिलिपि अधिकार ऐन, २०५९ लगायत प्रचलित कानुनी व्यवस्थाअनुसार सामग्रीको प्रकृति र प्रयोगको अवस्थाका आधारमा कानुनी कारबाही हुन सक्ने जनाएको छ।
चलचित्रसँग सम्बन्धित आधिकारिक सामग्री निर्माण पक्षले सार्वजनिक गर्ने माध्यमबाट मात्रै प्राप्त गर्न पनि कम्पनीले दर्शक, सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गरेको छ।
सनराइज पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘बाटुलो जून’ आगामी कात्तिक २६ गतेदेखि सिनेमा घरमा प्रदर्शन हुने जनाइएको छ।
प्रकाशित: २८ आश्विन २०८३, बुधबार